डडेल्धुरा । पहिरोले अवरुद्ध भएका डडेल्धुराका सडक मर्मत कार्य शुरु गरिएको छ । डडेल्धुराका स्थानीय तहले डोजर लगाएर सडक मर्मत कार्य शुरु गरेका हुन् ।
बेमौसमी वर्षाका कारण गन्यापधुरा ,अजयमेरू,नवदुर्गा र भागेश्वर,आलिताल गाउँपालिका र अमरगढी नगरपालिका र परशुराम नगरपालिका सबै ग्रामिण सडक बाढी पहिरोका कारण अवरुद्ध बनेका थिए । अवरुद्ध सडक सुचारु गर्न डोजरले काम सुर गरेको गन्यापधुरा गाउँपालिकाले जनाएको छ ।
पालिकाका रुवाखोला–रेल सडक, धन्ढुङ्गा–बडाल सडक, जनंगलस्पा–कैलपालमाण्डौ, कोराल–मोइ–रेल सडकमा एकै साथ चार वटा डोजर प्रयोग गरी सडक सुचारु गर्न काम थालिएको गाउँपालिका अध्यक्ष नबलबहादुर मल्लले बताए । यस्तै अजयमेरू गाउँपालिका,उ ग्रतारा–मेलौली सडक,भल्कुडा–चिपुर सडक, ढिमौला–भद्रपुर सडक सुचारु गरिएको अजयमेरू गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट बताए । नवदुर्गा,भागेश्वर र आलितालले गाउँपालिकाले पनि अवरुद्ध सडक सुचारु गरिरहेको जनाएको छ ।
त्यसैगरी चार जिल्ला जोड्ने डा.केआईसिहं राजमार्गको गन्यापधुरा गाउँपालिकामा पर्ने रडुवा सकायल सडकखण्डमा चार वटा एग्जाभेटर प्रयोग गरी सडक मर्मत गर्न पहल गरिएको छ भने ।
बेमौसमी वर्षापछि आएको बाढी पहिरोका कारण जिल्लाको अधिकांश सडक अवरुद्ध बनेका छन् । सडक अवरुद्ध भएसँगै स्थानीयलाई यात्रा गर्न असहज बनेको छ । जनताले खेप्नु परेको असहजतालाई मध्यनजर गर्दै सडक मर्मत कार्य शुरु गरिएको स्थानीय तहहरुले बताएका छन् । मर्मत कार्य तीव्र गरी चाँडै सडक सुचारु गरिने बताइएको छ ।