जनकपुर । खडेरीका कारण यस वर्ष धनुषाका केही खेतमा रोपाइँ नै हुन सकेन । रोपाइँ भएका स्थानमा पनि धान सुक्न थालेको छ । तर, जिल्लाकै केही गाउँका खेतमा भने लहलहाउँदो धान छ । वर्षौं पुरानो कुलो जीर्णोद्धार गरेपछि किसानले सिँचाइको समस्या भोग्नुपरेको छैन ।
जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था, लक्ष्मीनिया गाउँपालिका–२ का दोहर, सिनुरजोडा र महोत्तरीको लोहारपट्टी नगरपालिकाको तपनपुर, महदैया र बसपिटीलगायत गाउँमा सिँचाइको समस्या हटेको हो । पर्याप्त पानी उपलब्ध हुनुको कारण हो, ३० वर्षपछि बिग्घी नदीमा बाँध बाँध्नु । अनि पारम्परिक कुलोको जीर्णोद्धार गरेर गाउँसम्मै नदीको पानी लग्नु । उपमहानगरको सक्रियतामा सिँचाइको प्रबन्ध भएको हो ।
कुर्थाका किसान दशकौंदेखि लक्ष्मीनियाको दोहरमा बाँध बाँधेर सिँचाइ गर्थे । हाल, जीर्णोद्धार गरिएको कुलोको संरचना पनि त्यतिकै पुरानो छ । तर, ३० वर्षयता न बाँध बाँधिएको थियो न त कुलो जीर्णोद्धार । खडेरीको समस्या बल्झिने भएपछि उपमहानगर र किसानको सक्रियामा सिँचाइ सम्भव भएको हो । पुरानो संरचनालाई जीर्णोद्धार गरिएकै कारण किसानले पनि विरोध नगरेको स्थानीय चित्रनारायण साहको भनाइ छ । ‘दोहरदेखि कुर्थासम्म र दोहरभन्दा तलदेखि महोत्तरीको तपनपुर– महदैयासम्म कुलो खनिएको छ । पारम्परिक कुलो नभएको भए कुन किसानले निजी जग्गामा कुलो खन्न दिन्थे ?’ उनले भने ।
८ किलोमिटर लामो कुलोबाट दोहरको १ सय बिघा, सिनुरजोडाको ५ सय, तपनपुरको ५ सय, महदैयाको ५ सय, कुर्थाको १ हजार ३ सय र बिसपिटीको ५ सय बिघ गरी कुल ३ हजार ६ सय बिघामा सिँचाइ सुविधा उपलब्ध गराइएको छ । ‘बाल्यकालमा गाउँको खेतमा तीन बाली फलेको देखेको थिए । तर ३० वर्षयता बाँध बाँधिएन । खेत बाँझो रहन थाले । हामीले बाँध र कुलोलाई चुनावी नारा बनायौं । मतदाताहरु पत्याउनुभयो अनि मेयरसाबले विश्वास गरेपछि यो क्रान्ति सफल भएको हो,’ जनकपुरधाम–२१ कुर्थाका वडाध्यक्ष राजनारायण साहले भने । साहका अनुसार बाँध निर्माण र कुलो जीर्णोद्धारमा हालसम्म १८ लाख रुपैयाँ खर्च भएको छ । मुख्य खर्च डोजरबाट माटो खन्ने र पुर्ने काममा भएको हो । स्थानीयले पनि श्रमदान गरे । बाँध र कुलोको सुरक्षा र मर्मतका लागि ५ जनालाई खटाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले बाँध र कुलो निर्माणको भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । उपमहानगर प्रमुख मनोजकुमार साहले प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएकाले भुक्तानी रोकिएको बताए । पालिकाको खाता खुल्नासाथ भुक्तानी हुने उनले बताए । बिग्ही नदीसँगै हर्दिनाथ सिँचाइ आयोजनाअन्तर्गतको कुलो पनि जीर्णोद्धार गरिएको छ । धनुषा र महोत्तरीको सीमामा रहेको बिग्घी, मध्य धनुषाबाट बग्ने जलाद, अहरी, जमुनी, बेलौती, बछराजालगायतका नदीमा बाँध बाँधेर जग्गा सिँचाइ गरिँदै आएको हो । बाँध र कुलोको निर्माण सामूहिक श्रमदानबाट गर्ने परम्परा थियो । तर विकासे बजेट आउन थालेपछि खेती गर्ने पारम्परिक तरिकामा ह्रास आएको छ ।
कमला सिँचाइ आयोजनाका पूर्व डिभिजनल इन्जिनियर रत्नेश्वरलाल कर्णका अनुसार सुक्खामा पारम्परिक पद्धतिबाट मधेसका अधिकांश खेतीयोग्य जग्गामा सिँचाइ गर्न सकिन्छ । अधिकांश गाउँमा पारम्परिक कुलोको अवशेष पनि छन् । सिँचाइको स्थायी संरचना निर्माण गर्दा पनि पुराना कुलोलाई नहरको रूपमा प्रयोग गर्नुपर्ने उनको सुझाव छ । ‘मैले दुई वर्षअघि मधेस सरकारलाई सिँचाइको संरचना र सम्भावनाबारे एउटा रिपोर्ट नै बुझाएको थिए । तर यो रिपोर्ट कहाँ छ ? के भयो ? मलाई थाह भएन,’ कर्णले भने । इकोसिस्टमका दृष्टिले जमिनमुनिको भन्दा नदी र खोलाको पानीबाट हुने सिँचाइलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । कान्तिपुर दैनिकबाट