काठमाडौं। बागलुङको ढोरपाटनदेखि रुपन्देहीको सालझन्डी जोड्ने सडकको २२ किलोमिटर खण्ड कालोपत्रे गरिने भएको छ। खुर्सानेदेखि मैदानेसम्म कालोपत्रे गर्न सडक आयोजनाले ठेक्का आह्वान गरेको छ।
निर्माण व्यवसायीले ठेक्का लागेको तीन वर्षको अवधिमा उक्त खण्ड कालपत्रे सम्पन्न गर्नुपर्ने आयोजनाले जनाएको छ। यसका लागि अर्थ मन्त्रालयले गत वैशाखमा नै १ अर्ब ५१ करोड रुपैयाँको स्रोत सुनिश्चिता गरेको थियो।
यस्तै यो आर्थिक वर्षभित्र कञ्चनखोलादेखि खुर्सानेसम्मको खण्डको सडक कालोपत्रे हुने आयोजनाका प्रमुख वीरेन्द्रप्रसाद गौतमले बताए। उनका अनुसार यसका लागि गर्नुपर्ने पूर्व तयारीका कामहरु भइरहेको छ।
भडारादेखि गँगटेसम्मको सडक कालपत्रे गर्न २ अर्ब ३७ करोड रुपैयाँको स्रोत सुनिश्चिताको लागि योजना आयोग हुँदै अर्थमन्त्रालयमा फाइल पुगेको उनले बताए।
यसै बारेमा केही दिन अघि निवर्तमान सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अर्घाखाँची सडक खण्डको लागि ५२ करोड र गुल्मी( बागलुङ खण्डको सौतामारे(पुर्कोट(गँगटे खण्ड सडक कालोपत्रे गर्न लागि १ अर्ब ८५ करोड स्रोत सुनिश्चितता गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीसँग छलफल गरेकी थिइन। साथै बहुवर्षीय योजना स्वीकृत गरी खरिद प्रक्रिया अगाडी बढाउन समेत छलफल गरिएको थियो।
यो आयोजना २०६९ देखि सुरु भएको हो। गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरु जोड्ने १८५ किलोमिटरको यो सडकखण्ड अर्घाखाँचीमा ७०, रुपन्देहीमा ५, पाल्पामा २०, गुल्मीमा ४० र बागलुङमा ५० किलोमिटर पर्छ। ट्रयाक खुलेपछि गाडी चल्न सुरु भए पनि धेरै ठाउँ धराप छ। वर्षामा पहिरो खस्ने भएकाले आवागमन अवरुद्ध भइरहन्छ। विभिन्न खण्डमा छुट्टाछुट्टै ठेक्का लगाएर आयोजनाले काम गराइरहेको छ।
यो सडक निर्माण सम्पन्न हुँदा बुटवलबाट अर्घाखाँची र गुल्मीको यात्रा छोट्टिन्छ। लुम्बिनी भ्रमणमा आउने पर्यटकहरू समेत ढोरपाटनमा घुम्नलाई सहजता हुनेछ । मुलुकको एकमात्र हिमाली सिकार आरक्ष ढोरपाटनसम्म सडकको सहज पहुँचमा जोडिएपछि आन्तरिक तथा बाह्य पर्यटकका कारण सो क्षेत्रको आर्थिक स्थितिमा समेत सुधार हुने अपेक्षा गरिएको छ।
यो सडक निर्माणपछि सिकार आरक्षण क्षेत्र जाने पर्यटकलाई मात्र सुगम हुने छैन, होटल, रिसर्ट, प्याराग्लाइडिङ, गल्फ, ट्रेकिङ, हाइकिङ, होमस्टे लगायतका पर्यटकीय गतिविधिले बढवा पाउनेछ। बाह्य र आन्तरिक पर्यटकले विविध सांस्कृतिक प्राकृतिक सौन्दर्यको आनन्द लिने मौका लिनेछन्। सडक कालोपत्रे भएपछि यो क्षेत्रको आर्थिक क्रियाकलाप बढ्नेछ।
यो सडक निर्माण नहुँदा अर्घाखाँचीका बासिन्दा पाल्पा हुँदै ७ घन्टामा बुटवल पुग्ने गरेका थिए। सडकको ट्रयाक खुलेपछि २ घन्टामा बुटवल पुग्छन्। बुटवलबाट गोरुसिंगे(सन्धिखर्क सडक भएर सन्धिखर्क आउनु भन्दा सालझण्डी ढोरपाटन भएर आउँदा २७ किलोमिटर दुरी छोटो पर्छ। बिजमाण्डू