धरान। सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित चिण्डे डाँडामा निर्माण गरिएको अतिति सदन भवन निर्माणमा चरम भ्रष्टाचार भएको पाइएको छ। सहरी विकास मन्त्रालयको ७५ लाखमा (भ्याटबाहेक) निर्माण थालिएको भवन निर्माण सम्पन्न नहुँदै चुहिन थालेको छ।
भवन निर्माणको ठेक्का पाएको यायुष निर्माण सेवाले सम्झौताअनुसार काम नगरेपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन्। सम्झौताअनुसार काम नगर्ने ठेकदारलाई संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरले ५० लाख रुपैयाँ भुक्तानी दिइसकेको बुझिएको छ।
धरानको पर्यटकीयस्थल चिण्डेडाँडामा ५ तले भ्युटावर निर्माण गरिएको छ। भ्युटावरमा आउने पर्यटकहरुको सुविधाको लागि अतिथि सदनको निर्माणमा बजेट विनियोजन गरेपनि ठेकेदार रमेश पोदारले सम्झौताअनुसार भवन निर्माण नगरी अलपत्र पारेको चिण्डेडाँडा पर्यटन तथा सुचना पूर्वाधार विकास केन्द्रका अध्यक्ष सम्फर तामाङले बताए।
उनले सम्झौताअनुसार काम नगर्ने ठेकेदार पोदारलाई कडा कारबाही गर्न माग गरेका छन्। अध्यक्ष तामाङले ठेकेदारले सम्झौता विपरित काम गर्दा पानी परेको समयमा चिसिन थालेको बताए। भवन चुहिन थालेपछि दोस्रो पटक ढलान गर्दा पनि भवन चुहिन नरोकिएपछि ठेकेदारले गुणस्तरहीन काम गरेको उनको आरोप छ। ठेकेदार पोदार भवन निर्माणको काम छाडेर सम्पर्कविहीन भएको अध्यक्ष तामाङे बताए।
जुनसुकै आयोजना निर्माण गर्दा निर्माणस्थलमा सूचना पार्टी राखेर निर्माण अगाडि बढाउनुपर्ने भए पनि ठेकेदार पोदारले स्थानीय सरोकारहरुलाई समेत भवनको स्टिमेट नदेखाई आफूखुसी निर्माण गरेको अर्का स्थानीय राजकुमार तामाङे बताए।
उनले ठेकेदारले स्टिमेट लुकाएर १९ फिट चौडाइ र ६० फिट लम्बाइ (पाटेशन बेगर) एक हजार २ सय स्क्वायर फिटको कच्चा भवन बनाएको बताए। भवन निर्माणमा ७५ लाख रुपैयाँमा ठेक्का लगाइएको भए पनि काम भएको प्रविधिक मूल्यांकन गर्दा ४२ लाखमात्र रकम पुग्ने अनुमान गरिएको छ।
सरकारी रकम दुरुपयोग गरी आयोजनाको काममा भ्रष्टाचार हुँदासमेत भवनको रेखदेखको जिम्ममा पाएको संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरले ठेकेदारलाई कारबाही गर्न सकेको छैन।
संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरका इन्जिनियर रोशन झाले अतिथि सदन भवनको निर्माण ठेकेदार पोदारले सम्झौताअनुसार काम नगरेको बताए। उनले ठेकेदारले सम्झौताअनुसारको काम नगरेकाले भुक्तानी पाउनुपर्ने करिब २२ लाख रुपैयाँ रोक्का गरिएको बताए।
भवन निर्माण अलपत्र पारेर सम्पर्कविहीन भएका ठेकेदार पोदारलाई पटक(पटक फोन गर्दा उनले फोन उठाएनन्। अन्नपूर्णबाट