चितवन। चितवनको भरतपुरमा १८ करोड लगानीमा बेकरी उद्योग सञ्चालनमा आएको छ। नारायणी बेकरी एण्ड फुड इण्डष्ट्रिजले बेकरी उत्पादन सुरु गरेको हो। भरतपुर महानगर–२४ अमृतनगरमा ७ जनाको लगानीमा अत्याधुनिक प्रविधि सहितको बेकरी उद्योग सञ्चालनमा ल्याइएको हो। उद्योग २०७५ फागुनदेखि निर्माण थालिएको थियो। गत पुसदेखिनै उत्पादन थालेको छ।
उद्योगका निर्देशक सुनिल ध्वजुले पहिलोचरणमा क्षमताको १० प्रतिशत उत्पादन गरेर बजारीकरणको अवस्था अध्ययन गरेको बताए। उद्योगको क्षमता दैनिक ६ टन रहेको बताए। उनले खाद्य सम्बन्धि ऐन र मापदण्ड अनुसार उद्योगले बेकरी उत्पादन गरिरहेको बताए। यो वर्ष ४५ प्रकारका बेकरी उत्पादन गर्ने लक्ष्य रहेको बताए। चकलेट, काजुबदाम, बटर, जिरा अज्वाइन कुकिजहरु, ब्राउन, मिल्क, स्याण्डविच, स्वीट ब्रेडहरु, बर्गर वन, सफ्ट, क्रिमरोल, क्रान्ची रोल्सहरु, मफिनहरु उत्पादन गरेको छ।
८ महिनामै चितवन, नवलपुर, भैरहवा, पोखरा, गोर्खा, वीरगञ्जसम्म उत्पादनहरु बिक्रि वितरण भैसकेको बताए। उनका अनुसार देशव्यापी बजारीकरणका लागि यो वर्ष उत्पादनको ब्राण्डिङमा लागिने बताए। एन बेकरी ब्राण्डमा उद्योगले उत्पादित बेकरीको बजारीकरण गरिरहेको छ। शुद्ध तथा गुणस्तरीय उत्पादन भएकाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन नभएको बताए।
बेकरीको माग बढेको उहाँको भनाई छ। गुणस्तरीय स्वदेशी उत्पादनलाई उपभोक्ताले रोजाईमा पार्ने उहाँको दाबी छ। उद्योगका डिजिटल मार्केटिङका प्रतिनिधि अभिषेक पोखरेल बेकरीहरु ७ दिनदेखि १ वर्षसम्म उपभोग गर्न मिल्ने उत्पादनहरु रहेको बताए। गहुँ, कोदो, फापर, जौबाट बनेका बेकरीहरु स्वास्थ्यवर्दक मानिन्छ। चितवनमा ३ दर्जन बढी साना ठुला बेकरी उद्योगहरु सञ्चालनमा छन्। नारायणी बेकरी सबैभन्दा धेरै लगानी भएको उद्योगका रुपमा रहेको छ।