काठमाडौं। स्याङजाको गल्याङ नगरपालिका ११ लवरकोटमा आधुनिक हाइपम्पबाट लिफ्टिङ सिंचाई योजनाको परीक्षण शुरु भएको छ। इन्धन तथा बिजुलीको प्रयोग नगरी गरिने यो लिफ्टिङ नेपालकै पहिलो भएको गल्याङ जिल्ला सिंचाई डिभिजन कार्यलय स्याङ्जाका प्रमुख हरिदत्त पौडेलले बताए।
बिजुली तथा इन्धनको प्रयोगबिना पानी लिफ्टिङ हुन थालेसँगै बाँझो रहेको जमिनमा समेत खेती गर्न पाइने भएपछि स्थानीयवासी उत्साहित भएका छन्। सिंचाइका लागि पर्याप्त पानी अभावका कारण गाउँको जग्गा बाँझै थियो। स्थानीय कृषक बिमल खनालले भने, “अब बाँझो जग्गामा हरियाली हुनेभयो। पर्याप्त पानी उपलव्ध हुने भएपछि काम गर्न उत्साह समेत थपिएको छ।”
खोला तथा नहरको पानीलाई पाइपको माध्यमवाट टर्वाइनमा खसाली गियरको माध्यमले मोटर घुमाउँदा मोटरले पानी फाल्ने प्रबिधि नै हाइपम्प लिफ्टिङ प्रविधि हो। एक सयदेखि एकसय पचास लिटर प्रतिसेकेन्ड पानी फाल्ने यो प्रबिधिले २० हेक्टर जमिनमा सजिलै सिंचाई गर्न सक्ने बताइएको छ।
६० मिटर पानी पम्पीङ गरी बाह्रसय मिटरको दूरीसम्म सजिलै पानी पुग्ने हुँदा निम्नस्तरका कृषकका लागि अत्यन्तै राहत मिल्ने योजनाका इन्जीनियर अभिशेख डुम्रेले बताए। जिल्ला सिंचाई कार्यालय स्याङजाको समन्वयमा योजना सञ्चालन भइरहेको छ। ७२ लाखको लागतमा आयोजना सम्पन्न हुने जिल्ला सिंचाई कार्यालय स्याङ्जाका प्रमुख पौडेलले जानकारी दिए।
लिफ्टिङ सिंचाई आयोजना आटिस्टा कम्पनिले निर्माण गरिरहेको छ। चौबिसै घण्टा मेसीन सञ्चालन गर्न सकिने तथा मेसीनमा खराबि आएमा कम्पनिले नै मर्मत गर्ने सहमति रहेको प्रमुख पौडेलले जानकारी दिए।
गाउँको खेतीयोग्य जमिनलाई लच्छित गरी लिफ्टिङ आयोजना सञ्चालन गरिएको नगर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिए। उनले भने, ‘सिंचाईको अभावमा लवरकोट गाँउका नागरिक बिस्थापित हुने अवस्था थियो, अव गाउँ नै हराभरा हुनेभयो।’ गोरखापत्रबाट