काठमाडौं। सरकारले लुम्बिनी प्रदेशको बुटवलमा दुई हजारजना क्षमताका साना ठूला हलसहित अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण गरेको छ। सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका छन्। सहरी विकासमन्त्री मेटमणि चौधरीले उद्घाटन गर्ने भनिए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री देउवा आफैले सम्मेलन केन्द्रको उद्घाटनमा चासो राखेका थिए। सम्मेलन केन्द्रका लागि प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकप्टरबाट बुटवल मण्डपमा ओर्लिएका थिए। प्रधानमन्त्री देउवाले उद्घाटनसँंगै सम्मेलन केन्द्रको अवलोकनसमेत गरेका छन्।
एकै छानामुनि ठूला र साना हलमा दुई हजारजना अटनसक्ने क्षमता छ। बुटवल–नारायणगढ सडक खण्डको रामनगरस्थित बुटवल मण्डपमा रहेको साढे १६ बिगाह जग्गामध्ये ९ दशमलव ६ बिगाह क्षेत्रफलमा सम्मेलन केन्द्र निर्माण गरिएको हो। काठमाडौंमा रहेको बीआईसीसी (वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) पछिको यो ठूलो क्षमताको सम्मेलन केन्द्र हो।
सम्मेलन केन्द्रमा एक हजार १ सय १४ जना अट्ने क्षमताको मुख्य सभाहल रहेको भवन, दुई वटा लेक्चर हल, ६ वटा मिटिङ हल, विशिष्ट कक्ष, भिडिओ कक्ष, अडिओ कक्ष, ट्रान्सलेटर कक्षलगायतका कक्ष रहेका छन्। त्यसैगरी सम्मेलन केन्द्रमै चन्द्र आकारको भवनमा दुई वटा १।१ सय तथा ५०र५० जना बस्न सक्ने दुईवटा हल रहेका छन्।
सम्मेलन केन्द्रको प्रथम चरणमा मुख्य भवन निर्माण तथा अन्य भौतिक पूर्वाधार तथा दोस्रो चरणमा भवनमा रङरोगन, आन्तरिक तथा बाह्य सजावट, सभाहलमा कुर्ची टेबल, विद्युतीय, साउन्ड तथा माइकिङ सिस्टम, कार्पेट, सिसिटिभी जडान, प्रवेशद्वार निर्माण, सभाहल परिसरको ग्रिनरीसहितको बाटो, फुटपाथ, क्यान्टिन ब्लक, शौचालय, कर्मचारीका लागि तीन तलाको छुट्टै आवास गृह, पार्किङस्थल, पोखरी, बगैंचालगायतका संरचना निर्माण गरिएका छन्। दुवै चरणमा गरी सहरी विकास मन्त्रालयमार्फत् एक अर्ब तीन करोड ७६ लाख रुपैयाँ लागतमा बुटवल सम्मेलन केन्द्रको निर्माण भएको बुटवल सम्मेलन केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए।
सम्मेलन केन्द्रमा दुईवटा सर्भिस ब्लक, एक क्यान्टिन, एक ग्रीन हाउस, ६ जना बस्न मिल्ने कर्मचारी आवास भवन छ। त्यस्तै, चारवटा सुरक्षागार्ड गृह, दुईवटा प्रवेशद्वार र एकवटा निकासद्वारसँगै भीआईपी र सर्भिसद्वार गरी पाँचवटा गेट छन्। दुईवटा टिकट काउन्टरसमेत रहेको छ।
लिफ्टसहितको सम्मेलन केन्द्रमा हेलिप्याड तथा चार सय गाडी र चार सय मोटरसाइकल पार्किङ गर्न मिल्ने गरी पार्किङस्थलसमेत निर्माण गरिएको छ। पाँच वर्षभित्र सम्पन्न गर्ने गरी बुटवल उपमहानगरपालिका–१० रामनगरमा सभाहल निर्माणका लागि१५ माघ २०७१ मा ठेक्का सम्झौता भएको थियो। २०७२ सालको भूकम्प त्यसपछिको तराई मधेस आन्दोलन, नाकाबन्दी र त्यसपछिको कोरोना महामारीका कारण सम्मेलन केन्द्रको निर्माण कार्यमा ढिलाइ भएको थियो।
भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भइसकेको र ठूला होटलहरू भैरहवा बुटवलमा धमाधम खुलिरहेको अवस्थामा बुटवलको सम्मेलन केन्द्रले यस क्षेत्रको विकासका लागि थप मार्ग ऊर्जा प्रदान गरेको छ।