सल्यान। दार्मा गाउँपालिकामा ३ वटा विद्यालय भवनको निर्माण एक दशकदेखि अलपत्र छ । बजेट अभावमा दार्मास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रातामाटास्थित नवसर्वसाधारण मावि र दार्माकोटस्थित नेपाल राष्ट्रिय माविको भवन निर्माण अलपत्र परेका हुन् ।
साविकको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा निर्माण गर्न थालिएको नवसर्वसाधारण मावि र राष्ट्रिय माविको दुईकोठे भवन अहिलेसम्म भित्तोमै सीमित छ । आधारभूत विद्यालयमा भने भवनमा छाना हालिएको छ । लामो समय काम हुन नसकेपछि ठडाइएका भित्ता पनि काम नलाग्ने भइसकेका छन् । घाँसपात र झाँडीले भवन नै ढाकिएका छन् ।
निर्माण लामो समयदेखि अलपत्र पर्दा बालबालिकाको पठनपाठनसमेत प्रभावित भएको छ । नवसर्वसाधारण माविको दुईकोठे भवनका लागि १३ लाख, राष्ट्रिय माविका लागि १९ लाख र आधारभूत विद्यालयका लागि १३ लाख रुपैयाँ विनियोजन गरी मन्त्रालयले ०६८/६९ देखि निर्माण थालेको थियो । तर, १ वर्ष नबित्दै मन्त्रालय भंग भएपछि निर्माणकार्य अलपत्र परेको हो ।
बजेट अभावका कारण अलपत्र परेको भवन निर्माणका लागि स्थानीय तहले समेत बेवास्ता गरेको नवसर्वसाधारण माविका प्रधानाध्यापक विनोद रोकायाले गुनासो गरे । ‘आधाभन्दा बढी काम त भइसकेको छ, स्थानीय तहले सहयोग गरे भवन निर्माण सक्न सजिलो हुन्थ्यो,’ उनले भने, ‘भवन र कक्षाकोठा अभावका कारण विद्यार्थी कोचाकोच गरेर पढ्न बाध्य छन् ।’ उनका अनुसार भवन अभावमा एउटा कक्षाकोठालाई २ भागमा विभाजन गरी कक्षा १ र २ कक्षाका बालबालिका पढाउनुपर्ने बाध्यता छ । यसअघिका जनप्रतिनिधिले अन्य कार्यालयले सुरु गरेको काममा स्थानीय तहले बजेट विनियोजन गर्न मिल्दैन भनेपछि निर्माण अलपत्र परेको उनले सुनाए ।
निर्माण अलपत्र पर्दा बनेका भित्ता, झ्याल र ढोका काम नलाग्ने भइसकेको नेरामावि दार्माकोटका प्रधानाध्यापक हेमन्त ओलीले बताए । उनका अनुसार १९ लाख बजेटमध्ये झन्डै ७ लाख रुपैयाँ खर्च भइसकेको छ । झन्डै ७० प्रतिशत निर्माणको काम सकिएको भवन अलपत्र पर्दा पठनपाठनमा असर परेको उनको भनाइ छ । ‘विद्यालयको भरपर्दो स्रोत छैन,’ उनले भने, ‘स्थानीय तह र अरू निकायले सहयोग नै गरेनन् ।’
साविक जिल्ला विकास समितिमार्फत काम सुरु गरिएको भवन निर्माणको काम झन्डै ९० प्रतिशत सम्पन्न भए पनि प्रयोग गर्न नसकिएको राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेश खड्काले बताए । उनका अनुसार थप बजेट नआएपछि काम गरेका मजदुरलाई अहिलेसम्म ज्याला दिन सकिएको छैन । विद्यालयमा झन्डै ३० मजदुरले झन्डै एक महिना काम गरेका थिए । १३ लाखको बजेटमा बन्न लागेको भवनमा झन्डै ८ लाख रुपैयाँ खर्च भएको विद्यालयले जनाएको छ ।
दार्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रोमप्रसाद पाण्डेले साविकको जिल्ला विकास समितिले सञ्चालन गरेका योजनामा पालिकाले बजेट विनियोजन गर्न नमिल्ने बताए । ‘जुन निकायले योजना सञ्चालन गर्यो, त्यही निकायले सम्पन्न गर्नुपर्ने नियम छ,’ उनले भने, ‘हामीले सबै विद्यालयमा प्राथमिकताका आधारमा पूर्वाधार निर्माणको योजना बनाएका छौं, छिट्टै ती विद्यालयको पनि समस्या समाधान हुन्छ ।’