काठमाडौं। भौतिक योजना तथा पूर्वाधारमन्त्री मोहम्मद इस्तिहाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले सिसडोल क्षेत्रको अनुगमन गरेका छन्।
आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको मुड्खु–तीनपिप्ले सडक खण्डको निरीक्षण गर्न दुई मन्त्री सिसडोल पुगेका हुन्।
सिसडोल पुगेर भौतिकमन्त्री राईले सो सडक चार महिनामा निर्माण सम्पन्न गरिसक्ने बताए। सडक निर्माणका लागि बोलपत्र आह्वान गर्दादेखि ठेक्का नलाग्दासम्म लाग्ने झन्डै ७५ दिनको प्रक्रियालाई १८ दिनमा झारेको समेत उनले बताए। यो सडकलाई फास्ट ट्रयाकबाट बनाउन लागिएको उनको भनाइ छ।
पासाङ ल्हामु राजमार्ग अन्तर्गतको मुड्खु(तीनपिप्ले सडक खण्डको निर्माणमा ढिलाइ हुदा त्यहाँका स्थानीयले पटकपटक आन्दोलन गर्दै आएका छन्। यसका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ।
२०७० सालमा शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको उक्त सडकमा काम नभएपछि उक्त सडकको ठेक्का सरकारले तोडिसकेको छ। अधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन्।
यो ठेक्काको म्याद नथपिने भन्दै भौतिक मन्त्री राईले कसैलाई पनि राजनीतिक संरक्षण नहुने बताए।
‘जुन घरबेटी भनेर चर्चित थिए, उनलाई हामीले कारबाही गरेका छौं। यो नयाँ प्रकियाबाट सुरू भएको आज ४ दिन भएको छ,’ उनले भने, ‘घरबेटी भनेर कसैले कारबाही नगर्ने भन्ने थियो। संघीयमन्त्री, म अनि हामी सबैले प्रधानमन्त्रीलाई भनेर ठेकेदारलाई कालोसूचीमा राखेका छौं। अन्य समस्याहरू छन भने पनि हामी समाधान गर्छौं।’
संघीय मामिला तथा समान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले आफूहरूले धेरैपटक प्रयास गर्दा पनि ठेकेदारले काम नगरेकाले ठेक्का रद्द गरिएको बताए।
उनले अब पनि बाटो बन्ने हो कि नबन्ने हो भनेर आशंका नगर्न स्थानीयसँग आग्रह गरे।