झापा। एक करोड २० लाखको लागतमा झापाको गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारीले वातानुकूलित नमूना घरबास होमस्टे निर्माण गरेको छ। निर्मित होमस्टे पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घघाटन गरेका छन्।
त्यस्तै दुई दिनदेखि गृह जिल्लाका विभिन्न सामाजिक कार्यक्रममा व्यस्त रहेका उनले आफ्नै निर्वाचन क्षेत्रमा कृषि पर्यटन प्रवर्द्धनका लागि बनाइएको यो पहिलो कृषि होमस्टे साथै कोसेली घर र ज्येष्ठ नागरिक मिलन केन्द्र संयुक्तरूपमा उद्घघाटन गरेका हुन्। यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गत आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन गरी होमस्टेसँगै ज्येष्ठ नागरिक मिलन केन्द्र र चौतारी बनाएको थियो।
प्रदेश नं १ मै पहिलोपटक कृषि सहकारीले रु एक करोड २० लाखको लागतमा घरबास बनाएर सञ्चालनमा ल्याएको सहकारीका अध्यक्षले बताएका छन्। कृषि र पर्यटनलाई लक्षित गरी संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कठ्ठा जमिनमा निर्माण भएको सो होमस्टे आकर्षक र सुन्दर देखिएको छ। यसले झापा जिल्लाकै सौन्दर्यतालाई बढाएको छ। संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कूल एक करोड ६० लाख रकम सहयोग गरेकोमा होमस्टे निर्माणमा एक करोड २० लाख खर्च भएको र बाँकी रकम सोही स्थानमै बनेको ज्येष्ठ नागरिक चौतारीमा लगानी गरिएको थियो।
पूर्वपश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करिब ३० किलोमिटरको दूरीमा रहेको यस होमस्टे देशका विभिन्न सहकारीबाट यहाँको नमूनाखेती अवलोकन भम्रणमा दैनिक आउने पाहुनाका लागि बनाइएको हो। यस होमस्टेको पाहुना घरमा आठ वटा सुत्ने, सुविधा सम्पन्न कोठा र एउटा ८० जना अट्ने तालिम कक्ष बनाइएको छ। यी संरचनाहरुको उद्घघाटन कार्यक्रममा पूर्वमहाधिन्याधिवक्ता, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको थियो।