काठमाडौं। मोटरसाइकलमा मोबाइल स्ट्यान्ड राख्ने चालकलाई कारबाही गरिने भएको छ। ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड राख्ने चालकलाई कारबाही गर्ने भएको हो ।
बाइकमा म्याप हेर्न वा फोटो र भिडिओ खिच्नका लागि मोबाइल स्ट्यान्ड राख्दा दुर्घटना निम्तिएको भन्दै ट्राफिक प्रहरीले देशैभर यसको प्रयोगमा रोक लगाएको हो।
सवारी साधनमा कुनै पनि परिवर्तन जस्तै स्वरूप परिवर्तन, रङ्ग परिवर्तन, नयाँ पाटपूर्जा थपघट गर्नु कानूनतःः प्रतिबन्धित रहेको भन्दै ट्राफिक प्रहरी कार्यालय काठमाडौंले त्यसमा स्ट्यान्ड जोड्नु पनि मोडिफाई गर्नुभित्र पर्ने र त्यसो गर्न नपाइने जनाएको छ।
बिलबुकको अन्तिम पृष्ठमा जुन कुरा उल्लेख छ, त्यसभन्दा बढी भएमा कारबाही गरिने बताइएको छ।
सवारी साधन चलाउँदा मोबाइल फोन प्रयोग गर्नु गैरकानूनी हुने भएकाले पनि मोबाइल स्टेन राख्न निषेध गरिएको हो। चालकले एक हातले बाइक थाम्ने अर्को हातले मोबाइल चलाउने हुँदा सवारी दुर्घटनाको जोखिम बढेको र कानुन अनुसार पनि गैरकानुनी भएकाले निषेध गरिएको ट्राफिक प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।
अहिले सम्झाई बुझाई गर्नेदेखि न्यूनतम जरिवाना लिने गरेको र चाँडै नै सिधै कारबाही प्रक्रियामा जाने बताइएको छ।
बाइकमा कुनै पनि किसिमको मोबाइल स्ट्यान्ड राख्दा वा अन्य मोडिफाई गर्दा ट्राफिक प्रहरीले ५०० देखि दुई हजार रुपैयाँसम्म जरिवाना तिराउने बताइएको छ।
यदि थप अटेर गरे वा नियम नमानेको पाइएमा यातायात कार्यालय पठाइने र कार्यालय पठाएको खण्डमा न्यूनतम पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था रहेको समेत बताइएको छ।