पाँचथर। याङवरक गाउँपालिकामा तिन वटा ठुला पूर्वाधार आयोजनाको निर्माण सुरु भएको छ। उक्त गाउँपालिकाको महत्वमा रहेका तिन वटा आयोजनामा लगभग २५ करोड रुपैयाँलागत लाग्नेछ। यसका लागि दुई आयोजनाको ठेक्का सम्झौता भइसकेको छ भने एउटाको बोलपत्र आह्वान भई निर्माण कम्पनी छनोट हुन लागेको छ।
याङवरक–४ थर्पुको बरडाँडामा आधारभूत अस्पताल निर्माणको ठेक्का सम्झौता सम्पन्न भएको छ। गाउँपालिकाले आह्वान गरेको ठेक्का प्रस्तावअनुसार गत साउन २१ गते आधारभूत अस्पतालको निर्माण सम्झौता भएको हो। नमूना वीर जेभी मोरङले भ्याटसहित १४ करोड भन्दा माथीको लागतमा आधारभूत अस्पताल निर्माणको ठेक्का पाएको छ।
दुई ठूला ब्लकसहितको अस्पताल निर्माणकार्य २०८० साल भदौ १ गते सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ। सङ्घीय सरकारको लगानीमा १५ शय्याको अस्पताल निर्माण हुन लागेको हो ।
उक्त गाउँपालिकाको पहिचानका रुपमा स्थापित याङवरक पोखरी संरक्षण तथा पर्यटकीय पूर्वाधार निर्माणका लागिसमेत ठेक्का सम्झौता सम्पन्न गरिएको छ। निशान कालिका धाम तथा याङवरक पोखरी संरक्षण’ आयोजनाका लागि छ करोड भन्दा माथीको लागतमा पोखरीको संरक्षण तथा पर्यटकीय संरचना निर्माण हुन लागेको हो।
उक्त आयोजनाअन्तर्गत याङवरक पोखरीको संरक्षणसहित पर्यटकीय संरचना, मन्दिरलगायतका अन्य संरचना निर्माण हुनेछन्।निशान कालिका धामतर्फ घेराबारा, मन्दिर पुनःनिर्माण, टायल विच्छ्याउने काम निजी तथा सरकारी लगानीमा लगभग पूरा हुन लागेको छ।
सोहि गाउँपालिकाको लगानीमा बहुउद्देश्यीय कबर्डहल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ। गाउँपालिकाले तीन ब्याडमिन्टन कोड, एउटा भलिबल कोड, ५०० दर्शक अटाउने प्यारापिट, बाहिरी सजावटसहितको कबर्डहल निर्माणका लागि बोलपत्र आह्वान गरेको हो। उक्त कबर्डहल निर्माणका लागी चार करोड भन्दा माथीको लागत अनुमान गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाको संस्थागत विकास तथा तीन तहको सङ्घीय संरचनाको सम्वद्र्धनमार्फत नागरिकलाई आफ्नै घर आँगनमा सेवा दिन यस प्रकारका संरचना निर्माणले ठूलो सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताए।