रौतहट। ठेक्का सकार गर्ने तर कामै नगरी बस्ने ठेकेदार कम्पनीसँग सडक डिभिजन कार्यालयले सम्झौता रद्द गर्न थालेको छ। सम्झौता रद्द भएपछि ठेकेदार कम्पनी अदालत पुग्ने र काम अलपत्र पर्ने प्रवृत्ति बढेको छ।
सम्झौताअनुसार काम नगरेको भन्दै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले ३ वटा ठेक्का रद्द गर्यो । त्यसलगत्तै निर्माण व्यवसायीले अदालतमा रिट निवेदन दायर गरे । निर्माण अलपत्र छाडेर ठेकेदार अदालत जान थालेपछि सडक कार्यालयलाई समस्या परेको छ। निर्माण अनुगमन गर्नुपर्ने बेलामा अदालत धाएर प्रतिउत्तर लगाउनुपरेको सडकका कर्मचारीको भनाइ छ । पछिल्लो समय रौतहटको झाझ नदी पुल, गौर–पिपरा–समनपुर सडकको ठेक्का लिएको निलगिरीरनेशनलरक्यानोन जेभी हेटौडाले ८ बर्षमा पनि काम सम्पन्न गर्न नसकेपछि सडक कार्यालयले गत जेठ ९ मा ठेक्का रद्द गरेको थियो । त्यसको दुई दिनपछि ठेकेदारले उच्च अदालत पाटनमा मुद्दा हाले । अहिले सडक र ठेकेदारबीच मुद्दाको सवालजवाफ चलिरहेको छ ।
जेभीले उक्त सडक र पुलको ५ करोड ५३ लाख रुपैयाँमा ठेक्का सकारेको थियो । २०७१ असार २९ मा सम्झौता गरेको कम्पनीले २०७३ असार २८ मा काम सम्पन्न गर्नुपर्ने थियो । तर, ठेकेदारले ८ वर्षमा २५ प्रतिसत मात्र काम गरेको सडक डिभिजन प्रमुख दरोगाप्रसाद साहले बताए । ‘ठेक्का सकारेर कामै नगर्ने र जति पत्राचार गरेपनि बेवास्ता गर्न थालेपछि ठेक्का रद्द गरेका हौं,’ उनले भने, ‘ठेकेदार समयमा काम नगर्ने अनि कारबाही अघि बढाए अदालत पुग्ने प्रवृत्ति छ । यसले हामीलाई समस्यामा पारेको छ ।’ गौर–४ टिकुलिया घाटमा पप्पु कन्स्ट्रसनले सम्झौताअनुसार काम नगरेपछि सडक कार्यालयले ठेक्का रद्द गरेको छ । त्यसपछि पप्पुले उच्च अदालत पाटन, वीरगन्ज र जनकपुरमा रद्दविरुद्ध मुद्दा दायर गरेको सडक डिभिजन कार्यालयले जनायो ।
जनकपुर र पाटन उच्च अदालतले पप्पुको रिट खारेज गरे पनि वीरगन्जमा भने चलिरहेको छ । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट १६ करोड ८६ लाख रुपैयाँमा गौर–औरैया जोड्ने लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७=२ मिटर चौडाइ भएको पक्की पुलको ठेक्का लागेको थियो। ३ वर्षभित्र निर्माण पूरा गर्ने गरी ०७१ असार २९ मा सम्झौता भएको थियो । ठेकेदारले बिनाकारण बीचमै काम छाडेर गएपछि पुल अलपत्र पर्यो । सम्झौता ०७४ असार २५ मा सकिएपनि ४५ प्रतिसत मात्र काम भएको सडक कार्यालयले जनायो ।
उक्त पुलको ठेक्का रद्द भसकेको छ । सडकले ठेक्का रद्द गरे पनि पप्पुले काम गरिरहेको छ । विश्रामपुर हजरिया चाँदीखोला पुलको ठेक्का लिएको सपना निर्माण सेवा हेटौंडाले ६ वर्षमा पनि सम्पन्न नगरेपछि सडकले ठेक्का रद्द गरेको छ । १० करोड ३४ लाख रुपैयाँमा ठेक्का सकारेको कम्पनीले २०७३ असार २८ गते सम्झौता गरेको थियो । उसले २०७५ कात्तिक ३० मा काम सक्नुपर्ने थियो । तर, अहिलेसम्म ४५ प्रतिशत मात्र भएको छ । ठेक्का रद्द गरेपछि ठेकेदारले उच्च अदालत वीरगन्जमा रिट दायर गरेको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कामै नगर्ने र ताकेता गर्दा सुनवाइ नगरी बस्ने ठेकेदारले अदालतमा रिट दायर गर्न थालेपछि समस्या भएको बताए । कान्तिपुरबाट