कञ्चनपुर। भीमदत्त नगरपालिका–९ खल्लाका उत्तमप्रसाद पन्त परिवारसहित हाल छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। बाढीले बेसहारा बनाएपछि छिमेकीको घरमा शरण लिनुपर्ने उनको परिवारको बाँध्यता रहेको छ।
केहि दिनअघिको महाकाली नदीको बाढीले पन्तको घरसहित सबै सामान बगाएपछि छिमेकीको शरणमा बस्न बाँध्य गराएको हो। उनको घर भएको ठाउँमा हाल महाकाली नदीले बगर बनाएको छ। घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न, भाँडाकुडा सबै बाढीले बगाएर लगेपछि एकसरो लुगामा पन्त परिवार छिमेकीकोमा बस्दै आएका छन्।
बेमौसमी रुपमा आएको वर्षासँगै महाकाली नदीमा आएको बाढीले खल्ला र मुसेट्टीका एक दर्जन परिवार घरबारविहीन हुन पुगेका छन्। खल्ला श्रीलङ्का टोलका केही बासीन्दाको घर पनि सोहि बाढीले बगाएको छ। त्यस्तै घरमा क्षति नभएका परिवारले पनि कटान र पटानसहित धानबाली गुमाएका छन्। “बस्ती जोगाउनका लागि तटबन्ध निर्माण नगर्दासम्म बस्ती जोगाउन सकिँदैन”, स्थानीयवासी प्रेमसिंह रावलले भने, “तटबन्ध निर्माण नभए अन्यत्र ठाउमा बस्ती पुनःस्थापन गर्नुपर्छ।”
महाकाली नदीको किनारमा खल्ला, टुँडीखेल र मुसेट्टी बस्ती रहेका छन्। यी मध्ये टुँडीखेल उँचो स्थानमा भएकाले बाढीबाट जोगिएको छ। त्यस्तै होचो भएको कारणले गर्दा खल्ला र मुसेट्टीका बासिन्दा भने बाढीबाट पीडित भएका छन्। बाढी आएकै बेला फसेका मुसेट्टीका लक्ष्मणसिंह नायकसहित पाँच जनालाई सेनाकोे हेलिकप्टरबाट उद्धार गरिएको थियो। हाल नायकको घर भएको ठाउँ बगर बनेको छ। नदीले बगाएर ल्याएका बालुवा, ढुङ्गा र काठ घरमा थुप्रिएका छन् ।
बढीले उहाँको घरसहित कुखुराको खोर पनि बगाएको थियो। घर र खोर बगाएपछि नायक परिवार विचल्लीमा परेको छ। यस्तै त्यहाँका अरु बासीन्दाहरुको पनि बाढीले घर बगाएर विचल्लि भएका छन्। त्यस्तै बाढीले मुसेट्टीमा रहेका नायकसहित कृष्ण चन्द, हरिश साउँद, जनक साउँद, अमरसिंह खड्का र जय विष्टको घरमा पनि क्षति पुर्यायो। उनीहरुमध्ये चन्दको घर भत्किएको छ। अन्यको घरभित्र बालुवा थुप्रिएर हाल घरमा बस्न सकिने अवस्था छैन। बाढीमा फसेकी खड्काकी श्रीमती ६६ वर्षीय दीर्घमतीलाई नायकको परिवारसँगै नेपालि सेनाद्धारा उद्धार गरिएको थियो।
मुसेट्टीका अर्का पीडित चन्दले बाढीले शरीरमा लगाएको कपडाबाहेक अरु केही नबचेको बताएका छन्। घर भत्किएसँगै सबै सामानहरु पनि बाढीले बगाएको कुरा उनले जानकारी गराएका छन्।बाढीले चन्दको १५ कट्ठामा लगाएको धानबाली नष्ट भएकोे छ। मुसेट्टीकी विमला बमले बाढी आएपछि छिमेकीले आफूहरुलाई ब्युँझाएकाले भागेर सुरक्षित स्थानमा गएर ज्यान जोगाउन सकेकोे पीडा सुनाइन्। बमको घर अगाडिको जमिन बगर बनेको छ। बाढीले खोलाजस्तै बनाएको खेतमा अझैसम्म पानी छ। बाढीले बमको नागरिकता पनि बगाएको छ त्यसैले उनले राज्यले बाढी पिडितको व्यवस्था गर्नुपर्ने र बाढीपिडितहरु अहिले त्यसैको आशमा रहेको बताएकी छिन्।
मुसेट्टीमा मध्यराति १२ बजे बाढी बस्तीमा पसेको थियो। यसअघि विसं २०७० मा बाढीले बस्तीमा क्षति पुर्याएको थियो सोही बाढीले सरस्वती आधारभूत विद्यालय पनि बगाएको थियो। महाकाली नदीको किनारमा खल्ला, टुँडिखेल र मुसेट्टी गरी झण्डै ५०० घरपरिवार बस्दै आएको भीमदत्त नगरपालिका– ९ का अध्यक्षले जानकारी गराएका छन्। बाढीबाट स्थानीयवासीले घरबारसहित अन्न, खेतको धानबाली, पशु चौपाया गुमाएका हुनाले उनिहरु अरुको घरमा बस्न बाँध्य रहेका छन्। यतिबेलम उनिहरुसँग खानलाई अन्न पनि छैन। यस्तो दर्दनाक अवस्थामा सरकारले सहयोग गर्छ भन्ने आशमा उनिहरु रहेका छन्।
नगर प्रमुखले तीनवटै बस्तीलाई सुरक्षित बनाउनका लागि नदी नियन्त्रणको योजना आवश्यक रहेको बताएका छन्। त्यसका लागि प्रदेश र सङ्घीय सरकारलाई ध्यानाकर्षण गराउने र तत्काल राहत र पुनःस्थापनाको कार्यलाई अगाडि बढाउने प्रतिबद्धता पनि जनाएका छन्। त्यस्तै बाढीको कारणले खल्ला मुसेट्टीमा विद्युत्, सडक र सञ्चार सेवा अवरुद्ध रहेको साथै सडक पनि बाढीले बगाएपछि अन्य क्षेत्रसँगको सम्पर्कसमेत विच्छेद भएको छ।