काठमाडौं। दशैंमा घर जानेहरुका लागि यात्रा सहज बनाउन ८५ वटा राजमार्गको मर्मतसम्भार भइरहेको छ। दशैंमा घार जानेहरुलाई बाटोका कारण कुनै समस्या नहोस भनि राजमार्गहरु मर्मत गर्न थालिएको हो।
अघिल्ला दशैंमा घर जानेहरु बीच बाटोमै अलपत्र परेको अवस्थालाई दोहोरिन नदिनका लागि पनि समयमै सडक मर्मत कार्य गर्न थालेको सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताए।
कयौं मानिसहरुले बाटोकै कारण दशैंमा घर जाँदा ज्यान समेत गुमाउन पुगेका थिए। यो वर्ष त्यस्ता घटना हुन नदिन विभागले मर्मत सम्भार तथा पुलहरुको अवस्था जानकारी लिँदै आवश्यक ठाउँमा मर्मतको काम अगाडि बढाइएको अधिकारीले बताए।
उनका अनुसार अत्यधिक वर्षा, बाढी–पहिरो आएका बितेका वर्षहरु जसरी यसपाली सडकमा धेरै क्षति भएको छैन। सामान्य क्षति भएकोमा पनि विभागले मर्मतसम्भारको काम गरिरहेको छ। अहिलेसम्मको अवस्थाअनुसार दशैंमा घर जानेलाई बाटोका कारण समस्या नहुने देखिएको अधिकारीले बताए।
विभाग हरेक वर्ष ७८ सय किलोमिटर सडकको नियमित मर्मत कार्य गर्दै आइरहेको छ।वर्षाले असर गर्ने स्थानहरुमा सडक डिभिजनहरुका कामदार लगायत निर्माण सामाग्रीहरु स्पटमा तयारी अवस्थामा रहेका छन्। सडक मर्मतसम्भार गर्न सडक विभागसँग १९ ह्वील लोडर, ब्याक–हो लोडर ९, एस्काभेटर २५, ट्रिपर ३५, रोडबेड टेलरहरू १३ वटा लगायत हेभी उपकरण रहेका अधिकारीले बताए। हाल मर्मतसम्भारको लागि फिल्डमा २१८ वटा हेभी उपकरण मध्ये १२५ उपकरणहरु परिचालन भइरहेको छ।
यस्तै सडक विभाग अन्तर्गत सडक डिभिजन काठमाडौंको जिम्मेवारीमा रहेका सडक खण्डहरुलाई दशैं अगाडि नै खाल्डाखुल्डीरहित बनाउने अभियान सुरु गरेको डिभिजनले जनाएको छ।
यसैगरी डिभिजनले चाबहिल गणेशस्थान–भत्केको पुल, त्रिपुरेश्वर–कालीमाटी–टंकेश्वर लगायत खण्डहरुमा पटके मर्मत गरेको छ। डिभिजनले हरेक वर्ष सडक मर्मतसम्भारमा खर्च गर्ने गरेको छ। विभागका अनुसार देशभरिका सडक मर्मतका लागि ४ अर्ब खर्च गर्ने गरिएको छ।
यो पनिः
दुई वर्षदेखि सडक निर्माण अवरुद्ध