काठमाडौं। चरंगे खोलाले कटान गरेपछि चरेङ्गेको चिसापानी बस्ती जोखिममा परेको छ। निरन्तर परेको वर्षापछि खोलामा आएको बाढीले जमिन कटान गरेको हो। देवदह–१०, चरेङ्गेबीच खोलाले क्षति पु¥याउन सक्ने भन्दै वडा कार्यालयलाई जानकारी गराउँदा समेत बेवास्ता गरेकोले बस्ती जोखिममा परेको स्थानीयवासीको भनाई रहेको छ।
विगत केही दिनदेखि निरन्तर परेको वर्षापछि आएको बाढीका कारण चरेङ्गेको चिसापानी बस्ती जोखिममा परेको हो। जोखिमको बारेमा वडा कार्यालयलाई पटक–पटक ध्यानाकर्षण गराउँदा समेत खोला नियन्त्रणको लागि कुनै पहल नगरेको स्थानीयवासी पुष्पा रास्कोटीको भनाई रहेको छ।
विगत दुई वर्ष अगाडिदेखि खोला नियन्त्रणको लागि निरन्तर वडा कार्यालय र देवदह नगरपालिकालाई आग्रह गरे पनि नियन्त्रणको प्रयास नगर्दा बस्ती जोखिममा परेको रास्कोटीले बताइन। राजनीतिक पूर्वाग्राहीका कारण चिसापानी बस्ती विकाससँगै खोला नियन्त्रणको लागि कुनै बजेट विनियोजन नगरेको स्थानीयवासीको आरोप रहेको छ। लगातार आएको बाढीका कारण चिसापानी जाने बाटो र खेलमैदानको जग्गा कटान गरेपछि स्थाीय जनप्रतिनिधिहरुले अनुगमन गरेका छन्। अनुगमनको क्रममा समयमा खोला नियन्त्रण गर्ने प्रयास नगरेको भन्दै स्थानीयावासीहरुले जनप्रतिनिधिहरुसँग आक्रोस पोखेका थिए। सम्बन्धित सरोकारवाला निकायले स्थानीयवासीको मागलाई बेवास्ता गर्दा ठूलो पानी पर्ने बित्तिकै रातभरी जागराम बस्नु पर्ने स्थानीयवासी मीना लम्तरीले बताइन।
बस्ती बचाउनको लागि तत्काल खोला नियन्त्रणको काम गर्नुपर्ने स्थानीय प्रतिनिधिहरुसँग माग उनीहरुले माग गरेका छन्। देवदह नगरपालिका–१०, का वडाअध्यक्ष यकबहादुर सुनारले डिभिजन सिँचाइ कार्यालयले यस आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेकोले सोही बजेटबाट खोला नियन्त्रणको काम गर्ने बताए। खोला नियन्त्रणको लागि स्थानीयवासीले एक महिना अगाडि निवेदन दिएपछि आफूले कार्यपालिकाको बैठकमा कुरा उठाउने गरेको भए पनि नगरप्रमुखले खोलामा साधन लैजान आँट नगरेका कारण समस्या आएको वडाअध्यक्ष सुनारले जनाए।
विपद् व्यवस्थापनको लागि काम गर्दा प्रमुख जिल्ला अधिकारी र नगर प्रमुखले रोक्न नहुने सुनारले बताए। यसैगरी देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले खोला नियन्त्रणको लागि जिल्ला विपद् व्यवस्थापन समितिले असारदेखि भदौसम्म खोलामा सवारी साधन प्रयोग गर्न नदिँदा बाढीले कटान गरेको औंल्याए।
खोला नियन्त्रणको काम जेठ अगाडि नै गर्नुपर्ने भए पनि स्थानीय तहको निर्वाचनका कारण गर्न नसकेको उनले बताए। आफू निर्वाचित भएर आएपछि विधिसंगत तरिकारले स्थानीयवासीको समस्या समाधान गर्ने नगर प्रमुख खरेलले बताए।