काठमाडौं। कैलालीको टीकापुर नगरपालिकाले वर्षात्का समयमा मानिसलाई आवतजावतमा सहजताका लागि खाल्डाखुल्डी पुर्न थालेको छ। नगरपालिकाले खाल्डाखुल्डी र हिलाम्मे भएर आवतजावतमा समस्या भएका सडक मर्मत गरिरहेको जनाएको छ।
टीकापुर –१ को मालिका टोल जाने बाटो वर्षात्का समयमा बिग्रिएको थियो । खाल्डाखुल्डी र हिलोका कारण त्यहाँका नागरिकलाई आवतजावतमा समस्या भएपछि उनीहरुले नगरपालिकामा गुनासो गरे। गुनासोलगत्तै मालिका टोलमा सडक मर्मत भएपछि सहज भएको रवि देवकोटाले बताए। “पानी परेपछि बाटोबाट आवतजावतमा समस्या भयो, नगरपालिका गएर गुनासो गर्यौँ, लगत्तै नगरपालिकाको टिपर, स्काभेटर आएर बाटोमा ग्राभेल हालेर बनाएर गए। अहिले सहज भएको छ”, उनले भने, “गुनासो गर्नेबित्तिकै सुनुवाइ भयो, यसरी नागरिकका समस्या समाधान गर्न आवश्यक छ।”
वर्षात्का समयमा वनगाउँको उत्तरपुरुवा र वनगाउँमा ढल निर्माण र पुल निर्माण भइरहेको ठाउँमा बाटो बिग्रिएको थियो। सडक हिलाम्मे र मर्मत नहुँदा त्यहाँबाट आवतजावतमा समस्या भएपछि नगरपालिका गुहार्दा सडक बनेको र हिँड्न सहज भएको स्थानीय चम्मन चौधरीले बताए। “ढल निर्माणका क्रममा जताततै खनिएका छन्, कल्र्भट बनाउँदा त्यहाँ वरपरको सडक बिग्रिएको थियो”, उनले भने, “हामी अर्को बाटो भएर हिँड्नुपर्ने वाध्यता थियो। पालिकामा गुनासा टिपायौँ, तुरुन्तै सुनुवाइ भयो। पहिलो चरणमा माटो र ग्राभेल हालियो, वर्षा भएपछि माटो बगाएर लिँदा समस्या समाधान भएन। फेरि पालिकामा गुनासो गर्यौँ, अहिले ठूला ढुङ्गा हालेर त्यसमाथि ग्राभेल गरिदिएको छ।”
टीकापुर नगरक्षेत्रका अधिकांश सडक जीर्ण छन्। नगरपालिकाभित्र रहेका वर्षौँअघि बनेका कतिपय कालोपत्र सडकसमेत भत्किएका छन् भने ग्राभेल सडक खाल्डाखुल्डी परेर नागरिकलाई आवतजावतमा समस्या भइरहेका छन्। वर्षात्का समयमा यसरी बिग्रिएका सडकमा आवतजावतमा नागरिकलाई बढी समस्या हुन्छ। नागरिकका गुनासाअनुसार पालिका यतिखेर खाल्डाखुल्डी मर्मतमा जुटेको छ। “वर्षात्मा यहाँका धेरै सडक बिग्रने, भत्कने समस्या हुन्छ”, स्थानीय हरि चौधरीले भने, “पालिकाको टोली तयारी अवस्थामा राखिएको जनप्रतिनिधि बताउछन्। पालिकामा रहेका तीनैजना इञ्जीनियर, प्राविधिकका मोबाइल नं सार्वजनिक गरिएका छन्। समस्या भए फोन गछौँ।”
पालिकाले सडक अवरुद्ध भए, कतै डुबान भए प्राविधिकलाई सम्पर्क गर्न सूचना गरेको छ। त्यसका साथै कुन क्षेत्र कसले हेर्न भनी प्राविधिकलाई समेत काम बाँडफाँट गरेको छ।
नगरपालिकामा धेरै सडक आजभोलि हिलाम्मे र खाल्डाखुल्डी छन्। त्यसैलाई ध्यानमा राखेर नगरपालिकाले आफ्नै सवारीसाधन र जनशक्ति प्रयोग गरेर सडक मर्मतजस्ता कार्य गरिरहेको छ। पालिकाले नागरिकको माग र आवश्यकता हेरेर सडक मर्मत गर्ने कार्य गरिरहेको नगरप्रमुख रामलाल डगौरा थारूले बताए। “नागरिकलाई समस्या भए गुनासा गर्न भनेका छौँ, गुनासो आएमा प्राविधिकको टोलीले हेरेर तत्काल समस्या समाधान गरिरहेका छौँ”, उनले भने, “पालिकाकै जनशक्ति र सवारीसाधन प्रयोग गरेर साना–तिना समस्या समाधान गर्ने प्रयास हो। जसले नागरिकलाई सहज हुन्छ।”
पालिकाले यसरी सडक मर्मत गर्दा पनि पहुँच भएकाका गुनासामात्रै सुन्न नहुने स्थानीय दुर्गा सुनार बताउछन्। “नागरिकका समस्यालाई ध्यानमा दिएर पालिकाभित्रका सबै नागरिक बस्ने ठाउँका बाटा, पुल पुलेसा बनाउने, नागरिकलाई सहज आवतजावत गर्ने वातावरण बनाउने दायित्व पालिकाको हो। त्यहीअनुसार जिम्मेवारीका साथ कार्यान्वयन गर्न आवश्यक छ”, उनी भन्छन्, “नागरिकले पनि लाखौँ खर्चिएर घर बनाउने तर घर अगाडिका साना साना खाल्डाखुल्डी आफैँ नपुर्ने, सडकको सुरक्षा नगर्ने कार्य गलत हो। घर बनाउने, घर अगाडिको बाटो, ढल पालिकाले बनाइदिनुपर्छ भन्ने कार्य पनि गलत हो।”