काठमाडौं। सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटक बढेसँगै बेगनासका डुङ्गा व्यवसायीमा आशा जगाएको छ। कास्कीको लेखनाथस्थित बेगनास तालका डुङ्गा व्यवसायीमा वर्षा निख्रिनै लागेसँगै आउँदा दिनमा पर्यटक बढ्न सक्ने भन्दै यस्तो आशा जाग्न थालेको हो।
कोरोनाकै कारण साढे दुई वर्षदेखि थला परेको डुङ्गा व्यवसाय असोजबाट केही मात्रामा सुधार हुने आशामा व्यवसायी छन्। यतिबेला बर्सातको समय भएकै कारण पर्याप्त मात्रामा पर्यटक नआएपछि अव दशैँ–तिहारमा बाहिरी जिल्लाका पर्यटक बढे भने व्यवसायीलाई राहत मिल्ने बताइएको छ।
विशेष गरी शनिबार र बिदाका दिनमा बेगनास ताल वरपर आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ। आन्तरिक पर्यटक नौका विहार र माछाका परिकार खान बेगनास आउने गर्छन्। माछाका परिकारका लागि बेगनास ताल वर्षौंदेखि प्रसिद्ध मानिँदै आएको छ। कोरोना अघि नौका बिहार गर्न स्वदेशी तथा विदेशी पर्यटक खचाखच हुने गरेकोमा अहिले ती दिन सम्झना मात्र रहेको बताउँछन् ।
कोरोनाका कारण यहाँ कार्यरत २५ प्रतिशत डुङ्गा व्यवसायी विस्थापित भएको र केही डुङ्गा व्यवसायी विदेश र कतिपयले अन्य व्यवसाय रोजेको डुङ्गा व्यवसायी समितिले जनाएको छ। यति बेला सबै डुङ्गा सञ्चालनमा छैनन्, आलो पालो चलाउने गरिन्छ। पोखराकै दोस्रो ठूलो ताल तीन सय ७३ हेक्टर क्षेत्रफलमा फैलिएको बेगनासमा दुई सय ४९ डुङ्गा सञ्चालनमा रहेको समितिले जनाएको छ। बस्ती नभएकै कारण तालको पानी सफा भएकाले पोखराको फेवामा भन्दा बेगनासमा नै डुङ्गा चढ्न आन्तरिक एवं बाह्य पर्यटक मन पराउँछन्।
स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर डुङ्गा सञ्चालन गर्ने गरेका छौँ। व्यवसायीले बताए। बेगनास तालमा एक घण्टा नौका विहार गरेबापत व्यवसायीले रु छ सय र पाइडलबोटको रु एक हजार लिने गरिएको छ। डुङ्गाबाट ताल वरपरका जङ्गल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमशृङ्खला, कालिकाको ठूलाकोट, तथा बेगनासको सुन्दरीडाँडाको मनोहर दृश्यावलोकन गर्न सकिन्छ।
बेगनास तालमा विसं २०३७ देखि व्यावसायिकरुपमा डुङ्गा सञ्चालन हुँदै आएको हो।