काठमाडौं। आरती स्ट्रिप्सले जस्तापाताको तौलमा ठगि गर्दै आएको पाइएको छ। विराटनगरमा उद्योग रहेको आरतीले ० दशमलव ४० एमएम मोटाइको भनेर बजारमा लगेको रंगिन जस्ता पातामा ३ केजीसम्म कम तौलको पठाएर उपभोक्तालाई ठगि गरेको हो।
कम्पनीले ० दशमलव ४० एमएम मोटाइको जस्ता पाताको प्रतिबण्डल तौल ५५ देखि ५७ किलोग्रामसम्म हुने दाबी गरेको छ । तर बजारमा पठाइको उक्त जस्ता पाताको तौल ५३ केजी मात्र भएको पाइएको छ ।
आरतीले ० दशमलव ३७ एमएम मोटाइको जस्ता पाताको तौल प्रतिबण्डल ५३ केजी हुने बताएको छ । कम्पनीले ० दशमलव ४० एमएम मोटाइको जस्ता पाता त्यो भन्दा पातलो जस्ता पाताको बराबर तौलमा बजारमा पठाएको हो ।
ग्राहकलाई सस्तो छ भन्दै कम तोलको जस्तापाता बिक्री गरेर एक बण्डलमा रु ५०० देखि रु १००० रुपैयाँसम्म ठगि गर्दै आइरहेको छ । जस्ता पाता किन्न गएका एक ग्राहकले शंका लागेर तौल गर्दा एक बण्डलमा तोकिएभन्दा ४ केजी कम तौल पाएको बताए। कुनै पनि उत्पादित वस्तुको तोकिएको भन्दा घटी तौलमा बजारमा पठाउनु ठगि हो ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ अनुसार अनुचित व्यवसायजन्य व्यापारिक कृयाकलाप गर्नु हुँदैन । यसमा वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाइ, छिपाइ, झुक्याइ त्यस्तो वस्तु वा सेवा विक्री वा प्रदान गर्ने, झुठ्ठा वा भ्रमपूर्ण विज्ञापन गर्ने वा भ्रमपूर्ण विज्ञापन गरि वस्तु विक्री गर्ने कार्य अनुचित व्यवसायजन्य व्यापारिक कृयाकलाप हो । यस्तो गर्ने गराउनेलाई कैद र जरिमाना समेत हुने ऐनमा व्यवस्था छ ।
भारतीय नागरिक आरती सिंघल र उनका पति संजय सिंघलले संचालन गर्दै आएको आरती स्टिप्सले राजनीतिक शक्तिको आडमा गैरकानुनी कृयाकलाप गर्दै आएको छ । उद्योगको संचालक आरती सिंघल भारतमा अर्बौँ रुपैयाँ ठगि र कर छलीमा मुछिएका छन् । अर्थसंसारबाट