मुगु। जिल्लाको छायाँनाथ रारा नगरपालिका–२ को ससुराली डाँडामा तटबन्धन निर्माण गरिएको छ। पहिरो जाने सम्भावना नै नभएको ससुराली डाडाँमा पूर्वाधार कार्यालयले १० लाख खर्च गरेर तटबन्धन निर्माण गरेको हो।
आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको १० लाख बजेटमा पहिरो नै नआउने स्थानमा तटबन्धन निर्माण भएको हो । बजेट विनियोजन हुँदा शिवमन्दिर जाने सडक समेत निर्माण गर्नुपर्ने भन्दै १० लाख छुट्टाइए पनि सडक निर्माण नगरी डाँडामा तटबन्धन मात्रै गरिएको छ ।
असार मसान्तमा बजेट आएको र उपभोत्ता समिति गठन गर्न समय अभावले कोटेसन आह्वान गरेर ठेक्कामार्फत काम अगाडि बढाएको पूर्वाधार कार्यालय मुगुले जनाएको छ । तीन जनाको कोटेसन परेको र जसमा केटिएस निर्माण सेवाका प्रोप्राइटर केशव चौलागाईले ठेक्का दिइएको थियो।
सो क्षेत्रमा न बाढी, पहिरो, भू–क्षय आउने अवस्था छ सोही स्थानमा तटबन्धन गरिनुले सरासर रकम पचाउनेबाहेक अरु विकल्प नरहेको स्थानीय बताउँछन्। सदरमुकामभित्रै दर्जनौँ स्थानमा पटक–पटक सडक अवरुद्ध हुने, बाढीको पनि जोखिम रहेका स्थान छन्। तर, जिल्लामा रहेको पूर्वाधार विकास कार्यालयले सुटुक्ट कोटेसन आह्वान गरी पहिरो नआउने स्थानमा तटबन्धन हाल्दा अनियमितता र मिलोमतोको गन्ध आएको स्थानीयको भनाइ छ।
तटबन्धन ४६ जाली प्रयोग भएको छ । ती सबै जाली गुणस्तरहीन रहेको आरोप छ । भाँचपातल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नवराज चौलागाईका अनुसार पूर्वाधार विकास कार्यालयले सो स्थानमा तटबन्धन गर्दा उपभोक्ता समितिलाई कुनै पनि जानकारी नदिएको बताए ।
उनका अनुसार यस योजनाका लागि समितिले माग गरेको छैन । समितिले डाँडामा तटबन्धनका लागि माग पनि नगर्ने उनले बताए ।
पहिरो नै नआउने ठाउँमा तटबन्धन गर्नु भ्रष्टाचारबाहेक अरु केही नभएको छायाँनाथ रारा नगरपालिका–२ का ऐनबहादुर हमालले बताए । उनका अनुसार बाढी पहिरो जाने धेरै ठाउँ छ । त्यहाँ तटबन्धल गरियो तर सडक योजनामा तटबन्धन गरिनुले अनमियतता भएको उनले बताए ।
पूर्वाधार कार्यालयका सवइन्जिनियर मोहनसिंह कार्कीका अनुसार आर्थिक वर्ष ०७८/०७९ को तटबन्धनको लागि १० लाख रकम विनियोजित गरिएकोमध्ये सात लाख रकम भुक्तानी भइसकेको बताए । सडक निर्माण शीर्षकमा १० लाख बजेट आए पनि पहिलो चरणमा फिल्ड निर्माणको लागि रिटेनिङ वाल बनाइएको बताए ।
विशेष गरेर सडक संरचनाको लागि १० लाखभित्र दुई मिटरसम्मको सडक फराकिलो बनाउने र बाँकी रकमले ग्याबिन रिटेनिङ वालले फिल्ड निर्माण गर्ने काम रहेको सवईन्जिनियर कार्कीले बताए ।