विराटनगर। निर्माणाधीन कोसी राजमार्ग, रानी–धरान सडक खण्डअन्तर्गत विराटनगर क्षेत्रमा कालोपत्रे भासिएर डोब बनेको छ। ‘अस्पाल्ट’ प्रविधिको कालोपत्रे सडकमा सवारीसाधन गुड्ने चक्काको डोब छुट्टै बनेको हो। विराटनगर भन्सार क्षेत्रदेखि रानी नहरसम्मको तीन किलोमिटर र बरगाछी–ढाटसम्मको कालोपत्रे सडक भत्केको छैन तर पिच भासिएको छ।
भारत–नेपाल–चीन त्रिदेशीय लाइफलाइन वा व्यापारिक मार्गका रूपमा परिचित रहेको सो सडकको निर्माण सम्पन्न भएको खण्ड हस्तान्तरण गर्नुअगावै भासिन थालेको हो। निर्माण सम्झौताका आधारमा ठेकेदारले पुनर्निर्माण गर्नुपर्ने प्रावधान रहे पनि निर्माण कम्पनी भने यतिबेला मौन देखिएको छ। सडकको भारवहन क्षमताभन्दा दोब्बर वजन बोकेका मालवाहक सवारी गुडेका कारण भासिने गरेको आयोजना इटहरीका प्रमुखले बताएका छन्। सडक भासिनुमा कमसल निर्माण मात्रै नभएर सवारी व्यवस्थापनको पाटो रहेको उनको भनाई रहेको छ।
विराटनगर भन्सार क्षेत्रबाट सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा मालवस्तु बोकेर आउने सवारीले सडकको क्षमताभन्दा दोब्बर वजन बोक्ने भए पनि त्यसको नियमन र नियन्त्रण नहुने आयोजनाले जनाएको छ। देशैभर बनेका सडकको भारवहन क्षमता १० टन मात्रै रहे पनि विराटनगरमा भने १६ टनदेखि २० टनसम्मको वजन भएका मालवाहक सवारी गुड्दासमेत ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयले कारबाही नगरेको आरोप छ।
गृह मन्त्रालयले २०७५ सालमा परिपत्र गरेको आधारमा अहिलेसम्म मालवहाक सवारीको चेकजाँच नगरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुखको भनाइ रहेको छ। छ लेन सडकमा पार्किङ निषेध गरिएकोले सर्भिस लेनको अभाव हुँदा ठूला मालवाहक सवारी एउटै लेनमा गुड्नुपर्ने अवस्था सिर्जना भएको उनले बताएका छन्। फलाम उद्योगका एउटै कच्चा पदार्थ २० टनसम्म हुने र त्यसलाई टुक्र्याउन नसकिने भएको कारण उद्योगसम्म निर्बाध रूपमा जान दिने भन्ने सरकारको निर्णय रहेको छ। यसले गर्दा मालबाहक सवारीको वजन बढ्न गई सडक भासिने अवस्था सिर्जना भएको हो।
२०६९/७० देखि सुरु भएको आयोजनाले दुहबी बजार क्षेत्रको २ किलोमिटर र धरान बजार क्षेत्रको ५ किलोमिटर गरी जम्मा ७ किलोमिटर दूरीको ठेक्का सम्झौता अझै गर्न सकेको छैन। यदि यो दूरीमा ठेक्का सम्झौता भए आगामी दुई वर्षभित्रमा सबै काम सक्ने आयोजना प्रमुखले जानकारी दिएका छन्। निर्माणाधीन सडकमा भारवहन क्षमताभन्दा बढी भार बोकेका सवारीको आवागमनको व्यवस्थापन उचित नभएको कारण सडक भासिएको हो। छ लेन सडकको केन्द्र भागको डिभाइडरबाट दायाँ–बायाँ तीन–तीन लेन विभाजित रहेकोमध्ये नालातर्फको एक लेन पार्किङमा प्रयोग गरिएको, त्यसपछि बीचको भागमा साना सवारी गुड्ने गरेको र सडकको केन्द्र भागबाट ठूला मालवाहक लगातार गुड्दा सडक भासिएको आयोजना प्रमुखको भनाई रहेको छ।
सरकारको १० अर्ब ९८ करोड रुपियाँ लागतमा निर्माण भइरहेको ४९ किलोमिटर रानी–धरान व्यापारिक मार्गको हाल ४२ किलोमिटरमध्ये ३२ किलोमिटर रानी–तरहरा सडक खण्डको कालोपत्रे सकिएको हो। तरहरा–धरान तीनकुनेसम्मको नौ किलोमिटरको निर्माणको काम धमाधम भई रहेकोको छ।