रुपन्देही। बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको सबस्टेन निर्माण सम्पन्न भएको छ । योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन्।
बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सब स्टेसन सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण सम्पन्न भएको हो।
प्रसारण लाइन र सब स्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करिब २०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ । साथै, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार भएको छ ।
उद्घाटन कार्यक्रममा मन्त्री भुसालले आन्तरिक रूपमा खपत गरेर बढी भएको विद्युत् अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताइन् ।
उनले भनिन्, ‘‘विद्युत् नपुगेको ठाउँमा दुई वर्षभित्रमा विद्युत् पुर्याउने र पुगेको ठाउँमा पूर्वाधार निर्माण गरी गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्तिका लागि काम गरिरहेका छौँ, यसका साथै बूढीगण्डकीलगायतका ठूला जलाशययुक्त आयोजना निर्माण गरिने छ। खाना पकाउन प्रयोग हुने एलपि ग्यासको विस्थापित गर्ने, उद्योगलाई मागे जति विद्युत् दिने, यातायातमा विद्युतीय सवारी साधन प्रयोग गर्ने, कृषिको उत्पादकत्व बढाउन सिंचाइमा विद्युत् प्रयोग गरी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अगाडि बढ्नु पर्छ ।’’
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव शुशीलचन्द्र तिवारीले प्रसारण लाइन र सब स्टेसन निर्माणपछि यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने विश्वास व्यक्त गरिन् ।
यसैगरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनबाट बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार भएको र उद्योगहरूलाई मागे जति विद्युत् दिन सकिने अवस्था बनेको बताए । बुटवल सब स्टेसनमात्र विद्युत् आपूर्ति दिँदा विगतमा समस्या रहेको उल्लेख गर्दै उहाँले अब यस क्षेत्र विद्युत् हब बनेको र वितरण प्रणालीमा सुधार भएको बताए ।