काठमाडौं। रामेछाप जिल्लामा बागमती प्रदेश सरकारको लगानी रहेका अधिकांश योजना अलपत्र अवस्थामा रहेका छन्। निर्माण कम्पनीले सम्झौताअनुसार तोकिएको समयमा अस्पताल, कभर्ड हल र चिस्यान केन्द्र निर्माण सम्पन्न नगर्दा सञ्चालनमा आउन सकेको छैन।
सदरमुकाम मन्थलीमा निर्माणाधीन १५ शøयाका अस्पताल निर्माणको काम लामो समयदेखि रोकिएको छ। अस्पताल निर्माणको काम अलपत्र अवस्थामा छाडरे ठेकेदार भागेपछि गत मङ्सिरदेखि काम गर्ने मजदुर बिचल्लीमा परेका छन्। अस्पताल निर्माणको काम गत असारबाट पूर्ण रूपमा बन्द अवस्था छ। मन्थलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याका अस्पतालमा स्तरोन्नति गरी आगामी मङ्सिर ३० गते निर्माण सम्पन्न गर्ने गरी गत वर्ष भदौ १० गते शिलान्यास गरिएको थियो।
निर्माणको जिम्मा लिएको श्री गाल्वा।लालशुभ मेन्द्रो जेभी काठमाडौँले २० प्रतिशत पनि काम नसकी अलपत्र छाडिदिएको छ। अस्पताल निर्माणको काम अलपत्र छाडेर गत मङ्सिर महिनादेखि काम गरेको ज्यालासमेत नदिई ठेकेदार भागेपछि मजदुर अलपत्र परेको स्थानीय व्यवसायी प्रदीप श्रेष्ठले बताए। उनका अनुसार अस्पताल निर्माणको क्रममा मजदुर तथा निर्माण व्यवसायीहरूले खाएको, बसेको पैसा नपाउँदा आसपासका होटल तथा खाद्यान्न पसलसमेत समस्यामा परेका छन्।
यस्तै मन्थली नगरपालिका–२, भुत्याहाखोला किनारमा २०७६ साल भदौ महिना शिलान्यास भएको कभर्ड हलको काम अझै सकिएको छैन। प्रदेश सरकारको लगानीमा निर्माण सुरु भएको यो कभर्ड हलको १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सुनकोसी–गिरी जेभी काठमाडौँले २०७७ असार २१ गतेबाट काम सुरु गरेको थियो। छ करोड ५७ लाख ९२ हजार ८८० रुपियाँ ५३ पैसामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको हो। अत्याधुनिक कभर्ड हलमा बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिसलगायतका खेल सञ्चालन गर्न सकिने र करिब एक हजार दुई सय दर्शक क्षमताको रहेको जनाइएको छ। कभर्ड हलको २०७६ भदौ १७ गते बागमती प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले निकै तामझामका साथ शिलान्यास गरेका थिए।
यसैगरी मन्थली नगरपालिका–१, सानीमदौमा निर्माण भएको तरकारी तथा फलफूल चिस्यान केन्द्र अलपत्र परेको छ। प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड १० लाख रुपियाँको साझेदारीमा चिस्यान केन्द्र निर्माण भएको हो। गत आर्थिक वर्ष २०७८÷७९ बाटै सञ्चालन हुनुपर्ने यो चिस्यान केन्द्र सञ्चालनमा आउन नसक्दा जिल्लामा उत्पादित जुनारलगायतका अमिलो जातका फलफूल, किवी, आलु, विभिन्न जातका तरकारी उत्पादन गर्ने किसान समस्यामा परेका छन्।
चिस्यान केन्द्रको व्यवस्थापनका लागि सामान्य घेराबारसमेत नहुँदा अहिले सवारी पार्किङ र कुकुरलगायतका पशुचौपाया बस्ने थलो बनेको स्थानीय पूर्ण सुवेदीले बताए। प्रदेश सरकार र नगरपालिकाबीच चिस्यान केन्द्रमा बत्ती जडानलगायतमा स्पष्ट नहुँदा र हस्तान्तरण नहुँदासमेत सञ्चालनमा समस्या आएको छ। गोरखापत्रबाट