काठमाण्डौं। पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो। स्व. गणेशमानले व्यवसायिक सुरुवात गरेको ढाका अहिले पाल्पाली सङ्घले ब्राण्ड बनाउँने भएको छ।
गुणस्तरीय र पाल्पाली ढाकाको पहिचान नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढेपछि पाल्पाली ढाका कपडालाई ब्रान्ड बनाएर बजारमा ल्याउने तयारी गरिएको हो।
पाल्पाली ढाका सङ्घले निश्चित गुणस्तरसहित ब्रान्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको छ। युके एड सीप, लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिको लागि साझेदारी’ परियोजनामार्फत ब्राण्डिङ गरेको ढाका कपडा बजारमा आउने भएको छ।
भारत, चीनबाट आएका ढाका कपडाले पाल्पाली ढाका कपडाको व्यापार धरासायी बन्ने अवस्था आएको छ । यसले गर्दा ब्राण्डिङ नै गरेर प्रमाणित गरी शुद्ध पाल्पाली ढाका कपडा हो भन्ने चिनाउने अभियानमा जुटेको पाल्पाली ढाका सङ्घका व्यवस्थापक अनुशेष रायमाझीले बताए।
ब्राण्ड बनाएर ढाका कपडा बाहिर पठाउनका लागि परियोजनाले निश्चित मापदण्ड तोकेको छ। कारखानाको स्थिति कस्तो छ, कारखानामा सुरक्षा उपकरण छ कि छैन, प्रकाशको व्यवस्था, काम गर्ने मजदुरले सरकारले तोकेको न्यूनतम ज्याला पाएनपाएको, कामदारमाथि दुव्र्यवहार छछैन लगायत विभिन्न मापदण्ड तयार पारेको छ। ब्राण्ड बनेपछि पाल्पाली ढाकाको नाम बदनाम हुने क्रम रोकिने छ।
पाल्पाली ढाकाको कपडालाई ब्रान्ड बनाएर बजारमा पठाउँदा यसको छुट्टै पहिचान बन्ने र उपभोक्ताले पनि राम्रो सामान उपभोग गर्न पाउने, पाल्पाली ढाका सङ्घकि अध्यक्ष पूर्णमाया महर्जनले बताइन्।
स्व. गणेशमानले सुरु गरेको व्यवसाय अहिले पनि निरन्तर चलिरहेको छ। उनकी श्रीमती पूर्णमाया हालसम्म सात हजार महिलालाई ढाका कपडाको तालिम दिइसकेको बताउछिन। उनी उमेरले ८४ वर्ष पुगे पनि यस व्यवसायमा धेरै महिला उद्यमी उत्पादन गरेर रोजगारको ढोका खोलिदिएका छिन्।
एक वर्षअघिदेखि सुरु भएको ढाका सङ्घले हालसम्म पहिलो चरणमा ५०, दोस्रो चरणमा ९८ जनालाई ढाका कपडा बुनाई तालिम दिइसकेको छ, भने तेस्रो चरण अन्तर्गत हाल १९५ जनामाझ तालिम चलाइरहेको छ।
देश तथा विदेशमा छुट्टै पहिचान बोकेको पाल्पाली ढाका कपडाको ब्राण्डिङ गर्ने कार्य पहिले नै हुनुपर्ने भए पनि परियोजनामार्फत ढिला भए पनि जुन कदम चालिएको छ सही रहेको पत्रकार प्रकाश नेपाल बताए।