काठमाडौं। सौर्य ऊर्जाको प्रयोग गरेर झापाको गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पानी वितरण गरिरहेको छ। विद्युतको प्रयोग कम भएसँगै उपभोक्ताले सस्तो मूल्यमा पानी उपभोग गरिरहेका छन्।
सौर्य ऊर्जाको उपयोगपछि लागत घटेकाले समितिले खानेपानीको महसुल घटाएको छ। पानी तान्नेदेखि वितरण गर्नेसम्मका काम सौर्य ऊर्जाबाट नै हुने भएकाले पानीको महसुल सस्तो भएको हो। उपभोक्ताले न्यूनतम आठ युनिट पानीको महसुल एक सय ३० रुपैयाँ तिर्नु पर्दथ्यो भने सौर्य ऊर्जाको उपयोगपछि महसुल घटेर एक सय पाँच रुपैयाँ तिर्नुपर्ने भएको छ।
समितिले उठाएको महसुलबाट पाँच रुपैयाँ संस्थाको सामाजिक विकास कोषमा जम्मा हुने गरेको छ। महसुल त एक सय रुपैयाँ हो, संस्थाको सामाजिक विकास कोषमा जम्मा भएको पाँच रुपैयाँबाट सामाजिक उत्तरदायित्व अन्तर्गतका काम हुने गरेको संस्थाले जनाएको छ।
सौर्य ऊर्जाको उपयोगपछि दुई हजार ४०० उपभोक्ताको महसुलबापत मासिक रु ६० हजार बचत भएको छ। समितिले विद्युत् प्राधिकरणलाई मासिक तिर्नुपर्ने महसुल पनि आधा कम भएको छ।
यसअघि मासिक एक लाख ३० हजार रुपैयाँसम्म विद्युत् महसुल समितिले तिर्ने गरेको थियो। तर सौर्य ऊर्जाको उपयोगपश्चात् ४५ प्रतिशत कम महसुल तिर्ने गरेको छ। संस्थाको तथ्याङ्कअनुसार अहिले प्रतिलिटर पानी उत्पादनमा एक दशमलव १५ पैसा लाग्ने गरेको छ।
सौर्य ऊर्जाबाट पम्प तथा कम्प्रेसरसमेत सञ्चालन गरेर पानी वितरण गरिएको छ। विसं २०५२ मा स्थापना भएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा दुई हजार तीन सय ५० जना सदस्य छन्।
गौरादह– १ मा रहेका दुई ट्याङ्कीबाट समितिले पानी वितरण गर्दै आएको छ। साढे पाँच लाख लिटर क्षमताका दुई वटा ट्याङ्कीमा पानी भर्ने तथा धारासम्म पुर्याउने काममा दिनको समयमा सौर्य ऊर्जाको उपयोग हुन्छ। उक्त दुई वटा ट्याङ्कीबाट दैनिक चार लाख ५० हजार लिटर पानी उत्पादन हुँदै आएको छ।
रातमा भने विद्युत्कै प्रयोग गर्ने गरिएको छ। सौर्य ऊर्जाबाट चार्ज गर्ने ब्याट्री नराखिएको र सोझै प्रयोग गर्ने गरिएकाले रातको समयमा विद्युत्कै उपयोग हुने गरेको समितिले बताएको छ।