जनकपुरधाम। पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषाको कमला–जनकपुर खण्डको काम प्रभावित भएको छ। जग्गाको विषयमा स्थानीयले अदालतमा दायर गरेको मुद्दालगायत कारणले धनुषाको औरही र तिनकौरिया बजारमा सडक निर्माण प्रभावित भएको हो। पूर्व कमलाबाट पश्चिम जनकपुरधामसम्मको २७ किलोमिटर सडकमध्ये करीब २५ किलोमिटर निर्माण अन्तिम चरणमा पुगेको छ। यद्यपि बाँकी २ किलोमिटर सडकमा जग्गा विवादका कारण काम अघि बढाउन नसकिएको लामा रमण जेभीका इञ्जिनीयर सुनिल मुखियाले बताए।
औरही बजारको इलाका प्रहरी कार्यालय अगाडिको जग्गा आफ्नो भन्दै स्थानीय रामबाबु साह सुडीले उच्च अदालत जनकपुरधाममा मुद्दा दायर गरेका छन्। सो मुद्दामा अदालतले मुआब्जा दिएर मात्र सडक बनाउन आदेश दिएकाले समस्या भएको इञ्जिनीयर मुखियाले बताए।
‘अदालतले सुडीलाई जग्गाको मुआब्जा दिएर मात्र सडक बनाउन आदेश दिएको छ,’ इञ्जिनीयर मुखियाले भने, ‘जग्गाको मुआब्जा उनलाई मात्र दिए अरू ठाउँको जग्गाधनीले पनि माग्छन् र विवाद हुन सक्छ।’ समस्या समाधानका लागि पटक पटक भएको प्रयास असफल भएकाले सडक निर्माण प्रभावित भएको उनको भनाइ थियो।
सडक निर्माणका लागि स्थानीयले जग्गा अधिग्रहण गर्न नदिने र सडक छेउमा कुलोबाटै सडक बनाउन दबाब दिँदै आएकाले सडक निर्माणमा समस्या भएको उनले बताए। सो क्षेत्रमा जग्गा अधिग्रहण गर्न स्थानीय तहले पनि चासो नदेखाउँदा समस्या समाधान हुन नसकेको तिनकौरियाका स्थानीय बजारवासीको भनाइ छ।
लामा रमण जेभी २०७८ चैत ३० गते स्तरोन्नतिको काम पूरा गर्ने गरी २०७३ असार ३१ गते सम्झौता गरेको थियो। सो मितिमा निर्माण सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरिएको छ। थपिएको म्याद २०७९ चैत ३० गते सकिनेछ । २०७८ चैत मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि सडक निर्माणका क्रममा विभिन्न स्थानका बासिन्दाले जग्गाको विषयमा अदालतमा मुद्दा हाल्ने र विवाद सृजना गर्ने प्रवृत्तिले निर्माण अघि बढाउन नसकिएको इञ्जिनीयर मुखियाले बताए।
यसैबीच, हुलाकी सडकअन्तर्गत सिरहाबाट सर्लाहीसम्मको करीब २३३ किलोमिटर सडकअन्तर्गत हालसम्म १५३ किलोमिटर सडकमा कालोपत्र सकिएको छ। बाँकी ८० किलोमिटर सडकमा पनि तीव्ररूपमा काम भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालयले बताएको छ। जनकपुरधामस्थित कदमचोकबाट कमला नदीसम्मको २६ किलोमिटर सडकमध्ये १८ किलोमिटर सडकमा कालोपत्र गरिएको र बाँकी ८ किलोमिटर पनि तीव्ररूपमा काम भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालयका प्रमुख कृष्णकुमार महतोले जानकारी दिए। यस्तै सप्तरी र सिरहाको सीमा छुट्ट्याउने बलान नदीबाट कमला नदीसम्मको सिरहा खण्डको ३० किलोमिटर सडकमध्ये २४ किलोमिटर कालोपत्र सकिएको र बाँकी ६ किलोमिटर सडकमा पनि केही दिनभित्रै कालोपत्र सकिने उनले बताए।
सडक निर्माणको ठेक्का लिएको स्वच्छन्द रोशन महादेव खिम्ती जेभीले निर्धारित समयमै सक्नेगरी काम भइरहेको बताएको छ। दुई लेनको उक्त सडक कालोपत्र गर्न रू. १ अर्ब २० करोड २० लाखमा सम्झौता भएको कम्पनीका इञ्जिनीयर चन्द्र यादवले जानकारी दिए।