काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा आजदेखि ‘नेपाल पूर्वाधार सम्मेलन’को चौथो संस्करण सुरु भएको छ। पहिलो बिजनेस सेसन चलिरहेको छ।
पहिलो सेसनका प्रमुख पुर्व अर्थ मन्त्री युवराज खतिवडा रहेका छन्। की नोट स्पीकरमा प्रमुख आर्थिक सल्लाहकार, यूएनडीपी एशिया प्यासिफिक, पूर्व उपाध्यक्ष राष्ट्रिय योजना आयोग डा. स्वर्णिम वाग्ले, निजी क्षेत्र सञ्चालन तथा सार्वजनिक निजी साझेदारीका उपाध्यक्ष, एसियाली विकास बैंक अशोक लवासा रहेका छन्।
यसैगरी सामाजिक वरिष्ठ सल्लाहकार (मौसम परिवर्तन) एसियाली विकास बैंकका अध्यक्ष जलवायु परिवर्तन अधिकारी डा. वारेन इभान्स, उप–सभापति,सीएनआई प्रबन्ध निर्देशक चौधरी समूहका श्री निर्वाण चौधरी, यसैगरी राष्ट्रमण्डल तथा विकास कार्यालयकी उप विकास निर्देशक सुश्री हेडी ताभाकोली र भिरक एण्ड कम्पनीका अध्यक्ष श्री राधेश पन्त बिच प्यानलमा छलफल भइरहेको छ।
परिसंघले ‘इन्फ्रास्टक्चर फर ग्रोथ’ भन्ने नारासहित आजदेखि नेपाल पूर्वाधार सम्मेलन २०२२ सुरु गरेको छ।
सम्मेलनमा यातायात, उर्जा, शहरी विकास, खानेपानी तथा सरसफाईलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधार, पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्नेस दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनामा गहन छलफल हुनेछ।
सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्ने परिसंघले जनाएको छ।
संघका अनुसार, पूर्वाधारका लागि लगानी प्रबद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुनेछ।
सम्मेलनको विभिन्न सत्रमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरु, महानगरपालिकाका मेयरहरु, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एशियाली विकास बैंक, विश्व बैंक, प्राध्यापकहरुको प्रस्तुती हुनेछ।
परिसंघले सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन गर्दै आएकोमा यो चौथो सम्मेलन हो। शिखर सम्मेलनको २०१४ मा आयोजित पहिलो संस्करणको नारा ‘पूर्वाधारमा द्रुतगति लगानी’ थियो भने २०१७ मा आयोजित दोस्रो संस्करणमा ‘निजी क्षेत्र अपरिहार्य साझेदार’ भन्ने नारा राखिएको थियो। तेस्रो संस्करण २०१९ मा ‘दिगो विकासका लागि लचिलो पूर्वाधार’ नारासहित सम्मेलन गरिएको थियो।