काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नीजि क्षेत्रसँग सहकार्य नगरी कुनै पनि देशको आर्थिक विकास र समृद्धि अगाडि बढाउन सम्भव नहुने बताएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने नेपाल पूर्वाधार सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले आर्थिक विकासमा राज्य र नीजि क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका हुन्।
उनले भने, ‘नीजि क्षेत्रलाई विश्वासमा नलिइ विश्वव्यापीकरण तथा डिजिटलाइजेसनको युगमा कुनै पनि देशको आर्थिक विकास र समृद्धिलाई गतिशिल रुपमा अगाडि बढाउन सम्भव छैन। हामीले संविधान बनाउने बेलामा नै नीजि क्षेत्रलाई पनि प्राथमिकतामा राखेर बनाएका थियौ, त्यसपछिका विभिन्न समयका निर्वाचनमा पनि विभिन्न पार्टीहरुले आफ्नो घोषणा पत्रमा नै पीपीपी मोडललाई महत्वका साथ अघि बढाउने घोषणा समेत गरेका छन्। तर कार्यान्वयन सोचे जस्तो हुन नसकेको कुरा मैले पनि महसुस गरिरहेको छु।’
उनले यस सम्मेलनले नीजि क्षेत्र र राज्यबीचको सहकार्यलाई कसरी कार्यान्वयन गराउने भन्ने विषयमा भुमिका खेल्ने बताए। उनले नीजि क्षेत्रप्रतिको सोच राज्यले र राज्यप्रति सोच नीजि क्षेत्रले सकारात्मक बनाएर सहकार्यको वातावरण बतानउनुपर्नेमा जोड दिए। अध्यक्ष प्रचण्डले पूर्वाधार विकासको हिसाबले आफू पहिलोपटक प्रधानमन्त्री भएपछि मध्यपहाडि लोकमार्गदेखि तराईमा अर्को पूर्वपश्चिम रोड बनाउन र लिंक मार्गद्वारा नेपाललाई एउटा व्यापक आर्थिक संरचनामा ढाल्न सक्ने सोचका साथ काम गरेको बताए। उनले भने, ‘मध्यपहाडि लोकमार्ग, तराईको पूर्वपश्चिम राजमार्ग, लिंक रोड जुन गतिका साथ अघि बढाउनुपर्ने हो त्यति तीव्रताका साथ गर्न सकिएन। तर मध्यपहाडि पूरा हुँदैछ, लिंक रोड बन्दै छ। सम्भावनाका ढोकाहरु भने खुल्दै छन्।’
अध्यक्ष प्रचण्डले राज्यमा भएको स्रोतसाधन र मानविय क्षमतालाई पनि उपयोगका लागि सहज वातावरण बनाउन नसकेको स्वीकार गरे। उनले अर्थतन्त्रको विकासका लागि पीपीपी मोडल त्यसमा सहकारी पनि जोड्ने कुराका लागि आवश्यक पर्ने ऐन कानुन बनाउनेदेखि अन्य संरचनाको विकास गर्ने र नीजि क्षेत्रलाई अझ बढी विश्वासमा लिएर अघि बढ्ने कुरामा राज्य गम्भिर हुनुपर्ने आवश्यकता रहेको बताए। नेपालको आर्थिक विकास, पूर्वाधार विकास समग्र अर्थतन्त्रको विकास लगायतका क्षेत्रमा एडिबी, वाल्र्ड बैंक, यूरोपियन यूनियन, भारतका विभिन्न संघसंस्थाले महत्वपूर्ण योगदान दिँदै आएको र अझ सहयोग हुँदै जाने सहकार्यमा अझ सकारात्मक वातावरण बन्दै जानेमा विश्वास रहेको बताए।
अध्यक्ष प्रचण्डले राजनीतिक पार्टी, नेतृत्वले देशलाई कहाँ पुर्याउने भन्ने क्लिय भिजन नराख्दा देश रुमलिन पुग्ने, नीजि क्षेत्रसमेत अलमलमा पर्ने र यसले सम्पूर्ण राज्यको विकासमा बाधा उत्पन्न गराउने भन्दै आफूहरुमा क्लियर भिजन हुनै पर्ने बताए।