महोत्तरी। हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको माइस्थान–गौशाला–सम्सी सडक खण्डमा जताततै खाल्डाले यात्रुलाई सास्ती दिएको छ। औरही नगरपालिका–६ बैरिया, सम्सी गाउँपालिका–१ र २ स्थित ५ किमि सडक खण्ड जीर्ण बनेको हो।
वर्षाको समयमा खाल्डामा जमेको पानीले सवारी चालक र पैदल यात्रुलाई थप सास्ती दिने गरेको छ । तीन वर्षदेखि सडक बिग्रिए पनि मर्मत गर्न कुनै पनि निकायले चासो नदिएको सम्सी–२ की स्थानीय जिना खातुनले बताइन् । बिग्रिएको सडकले स्थानीयलाई हिँडडुल र व्यापारमा समस्या परिरहेको उनको भनाइ छ ।
‘सडक बिग्रिएकाले अन्त गाउँबस्ती घुम्नुपर्ने, पालैसँग हिलै हुँदै खाल्डो तर्नुपर्ने र अन्य बाटो थाहा नहुनेलाई अप्ठ्यारो गरी यात्रा गर्नु परिरहेको छ,’ उनले भनिन् । सडकका ठूला खाल्डाले सवारीसाधन बिग्रिने र दुर्घटनाको जोखिम रहेको सवारी चालक साहिम महतोले बताए ।
गाउँपालिका कार्यालय र वडा कार्यालयकै अगाडि सडकमा खाल्डा भए पनि स्थानीय जनप्रतिनिधि मूकदर्शक बनेको स्थानीयको आरोप छ । बैरियाका राजकुमार यादव सडक बनाउन जनप्रतिनिधिले पहल नै नगरेको गुनासो गर्छन् । सडक बनाउन स्थानीयले पटकपटक पहल गरे पनि कसैले चासो नदिएको उनको भनाइ छ । हुलाकी राजमार्गको रेखदेख र मर्मत सम्भारको जिम्मेवारी पाएको हुलाकी राजमार्ग कार्यालय जनकपुर उक्त सडक आफ्नो मातहतमा नरहेको भन्दै पन्छिएको छ ।
भारत सरकारको लगानीमा भारतीय कम्पनी एनएचआई डिसिएलले निर्माण गरेको हुलाकी सडकमध्ये माईस्थान–सम्सी सडक खण्ड जनकपुर कार्यालयअन्तर्गत नपर्ने हुलाकी राजमार्ग कार्यालय जनकपुरका योजना प्रमुख कृष्णकुमार यादवले बताए । हुलाकी राजमार्ग निर्देशनालयले गराएका कतिपय योजना जनकपुर कार्यालयले नहेरेर निर्देशनालयले नै हेर्ने गरेको महतोले जानकारी दिए ।
निर्देशनालयअन्तर्गत पर्ने उक्त सडक योजना पूरा भएको ३ वर्ष बढी भइसकेको छ । योजना सम्पन्न भएको एक वर्षसम्म काम गर्ने कम्पनीले नै सडकको मर्मत गर्नुपर्ने व्यवस्था भए पनि निर्माण कम्पनीले हस्तान्तरण गरेपछि मर्मतको जिम्मेवारी सडक डिभिजन कार्यालयलाई हुन्छ ।
उक्त सडकखण्ड निर्देशनालयले अहिलेसम्म हस्तान्तरण नगरेको जनकपुर सडक डिभिजन कार्यालयका प्रमुख सञ्जय मिश्रले बताए । आफू कार्यालयको प्रमुख भएर आएकै २२ महिना भइसकेको भए पनि त्यसअगावै सम्पन्न योजना किन डिभिजनलाई हस्तान्तरण नभएको आफूलाई जानकारी नभएको उनले बताए ।
सडकको अवस्थाबारे आफू जानकार भएको र सम्सीबाट सडक बनाउन माग राख्दै डेलिगेसन टोली आए पनि मर्मत गर्ने अधिकार र बजेट नभएको मिश्रले बताए । निर्देशनालयले डिभिजनलाई सडक हस्तान्तरण गरेको सडकमा मात्रै सडक विभागसँग बजेट माग गरेर मर्मतसम्भार गर्ने गरेको उनको भनाइ छ । कान्तिपुरबाट