काठमाडौं। ४५ करोड रुपैयाँको लागतमा गोरखा बजारमा निर्माण हुँदै गरेको तीन तारे होटल गोरखा गार्डेनको निर्माण अन्तिम चरणमा पुगेको छ। सो होटल आगामी मंसिरबाट संचालनमा ल्याउने तयारी भइरहेको छ।
जग्गासहित सुरुमा ४० करोड रुपैयाँ होटल तयार गर्ने योजना रहे पनि कोभिड–१९ को कारण थप पाँच करोड रुपैयाँ लागत बढेको आयोजना सञ्चालकले जानकारी दिएका छन्। सो होटलमा चितवनस्थित भरतपुर गार्डेन रिसोर्टका संचालक समूह र गोरखामा रहेका व्यवसायीको सामूहिक लगानी रहेको छ। भरतपुर गार्डेन रिसोर्टको ६० प्रतिशत र बाँकी ४० प्रतिशत अरु व्यवसायीको साझेदारी रहेको छ।
१५ रोपनी क्षेत्रफलमा तयार हुँदै गरेको उक्त होटलको निर्माण तीन वर्ष अघि सुरु गरिएको थियो। १० हजार स्क्वायर फीटमा रहेको होटलको मुख्य भवनमा कुल ४६ वटा कोठा रहेको छ। यी मध्ये दुईवटा सुइट, १० वटा सुपर डिलक्स, १० वटा डिलक्स रुम र बाँकी नर्मल रुम रहेको छ। हाल होटलमा रुम डेकोरेसनको काम भइरहेको छ। होटल सञ्चालकको अनुसार होटलमा प्रयोग गरिएका फर्निचर र विद्युतीय सामानहरु चीन र भारतबाट आयात गरिएको हो।
सात तल्लाको भवन संरचना रहेको होटलको छैटौं तल्लामा स्वीमिङ पुल बनाइएको छ भने सो होटलमा विभिन्न सभा समारोह आयोजनालाई मध्यनजर गर्दै एक सयदेखि तीन सय जनासम्म अट्ने तीनवटा सभा हल, २५ जना क्षमताको एउटा कर्पोरेट हल रहेको पनि निर्माण गरिएको छ। त्यस्तै सयवटा सवारी साधन अट्ने गरी पार्किङ स्थल पनि निर्माण गरिएको छ।
गोरखा ऐतिहासिक ठाउँ भएकाले त्यहाँ गोरखा कालिका मन्दिर, गोरखा दरबार, संग्राहलय, वारपाक लगायत धेरै आकर्षक क्षेत्र रहेका छन् तर त्यहाँ एकै पटक एक सय जना पाहुनालाई सेवा दिने पर्यटकीय होटल नभएको कारण उक्त होटलको निर्माण योजनालाई अघि बढाइएको थियो। होटल संचालनमा आएपछि गोरखाको पर्यटन प्रवर्द्धनका लागि विभिन्न ट्राभल एजेन्सीको सहकार्य गर्ने होटल सञ्चालकले जानकारी गराएका छन्। सो होटलमा आउने पाहुनालाई नेपाली रैथानेसँगै कन्टिनेन्टल परिकारको सेवा दिइने छ। साथै यस होटलमा अर्गानिक खानपिनको सुविधा हुनेछ।