बागलुङ। बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ। भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा करोड लागतमा निर्मित स्वास्थ्य चौकी भवन पहिरोका कारण उच्च जोखिममा परेको हो।
वि.सं.२०७६ सालमा निर्माण भएको उक्त भवन २०७७ सालको बर्खामा पहिरो आएको पहिरोले भवन जोखिममा परेको हो।
भवन माथिदेखि झरेको पहिरोले पछाडितिरका झ्यालमा क्षति पुर्याएको छ। स्वास्थ्य चौकीको भवन माथिदेखि तथा तलपट्टीबाट पहिरो गएको छ। माथिदेखि झरेको पहिरोले भवन पुरिन थालेको छ भने तलदेखि भवनको जग नै उप्किन थालेको छ। दुई करोड तीन लाख रुपैयाँमा निर्माण भएको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिमा परेपछि वडा कार्यालयले यसको संरक्षणका लागि पहल थालेको छ।
बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले भवन जोखिममा परेपछि यसको संरक्षणका लागि ६५ लाख बजेट विनियोजन भएको बताए। उनले बर्खा सकिएपछि पर्खाल लगाउने बताए। ‘भवन निकै जोखिममा छ, कुनापट्टी र छेउपट्टीबाट पहिरो गएको छ, माथिबाट चापिने र तलबाट भत्किने डर छ’, अध्यक्ष थापाले भने, ‘अहिले बर्खा रोकिएको छैन, बर्खा रोकियो भने यहाँ वाल लगाएर संरक्षण गर्ने योजनामा छौँ।’
अध्यक्ष थापाले पूर्वजनप्रतिनिधिको लापरवाहीका कारण करोडौँ रुपैयाँमा बनेको भवन अहिले जोखिममा परेको बताए। उनले पहिले यो ठाउँमा हुँदैन भन्दाभन्दै जरबजस्ती रूपमा भवन निर्माण गर्दा अहिले यो अवस्था सिर्जना भएको बताउँछन्।
‘हामीले पहिले नै भनेका थियौँ, यो ठाउँमा हुँदैन, जोखिम हुन्छ भन्दाभन्दै हामीभन्दा अगाडिका जनप्रतिनिधिले जबरजस्ती गर्दा अहिले भवन निकै जोखिममा छ। दिनदिनै बिरामी आउँछन्, पानी पर्दा माथिबाट आएर च्याप्ने हो कि तलबाट तान्ने हो भन्ने जोखिम छ’, अध्यक्ष थापाले भने, ‘पानीको मूल उम्रिने ठाउँमै भवन निर्माण गर्नु हुन्थेन। प्राविधिकले पनि त्यसलाई कसरी पास गरे, त्यो हामीलाई थाहा भएन, संरचना बन्यो, महँगो संरचना, यसको संरक्षणमा हामी गम्भीर भएर लागेका छौँ।’
उनले भवनको पछाडितिर पर्खाल लगाएर संरक्षण गरेको भए पनि पानी निस्किने ठाउँ हुँदा भत्नकिने जोखिम रहेको बताए। स्वास्थ्य चौकीको तल र माथि दुवै पट्टीदेखि पहिरो गइरहेको हुँदा यसको संरक्षण गर्न चुनौती देखिन्छ।
स्थानीय देवबहादुर सुबेडीले भवनको जग नै गतिलो नभएको बताए। उनले पानीको मूल फुट्ने ठाउँमा स्वास्थ्यचौकी बनाउनु गलत भएको बताउँछन्। खत्रीले अनुपयुक्त ठाउँमा भवन निर्माण गर्दा करोडौँको नोक्सान हुने बताए।
‘यस्तो ठाउँमा भवन बनाउनै हुन्थेन, पानीको मूल फुट्ने ठाउँमा भवन बन्यो, अहिले जोखिममा पर्यो, जग्गा कमजोर थियो, यही ठाउँमा भवन बनाएपछि कसरी सुरक्षित हुन्थ्यो र ’, उनले भने। भवन निर्माणका लागि स्थानीय यामबहादुर खड्का र बेलबहादुर खत्रीले चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए। थाहाखबरबाट