बारा। सिमरा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको छ। १५ वर्षपछि विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको हो।
१० करोड १३ लाख रुपैयाँ लागतमा धावनमार्ग कालोपत्र तथा फेन्सिङलगायत आवधिक मर्मत गरिएको हो।
नागरिक उड्डयन कार्यालय सिमरा विमानस्थलका अनुसार करीब १५ वर्षपछि विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको हो। सिमरा विमानस्थलको धावनमार्ग १ हजार १ सय ९२ मिटर लामो र ३० मिटर चौडा छ।
उक्त विमानस्थलबाट बुद्ध एयरको ९, यती एयरलाइन्सको २, श्री एयरलायन्स र गुण एयरको १र१ गरी दैनिक १३ विमानको उडान तालिका छ । तर, दैनिक आधा दर्जन विमानले उडान।अवतरण र करिब १ सय २० यात्रुले आवागमन गरिरहेका छन्। ‘व्यस्त विमानस्थलको धावनमार्गलाई कालोपत्र आवश्यक भइसकेको थियो, बिग्रिएर अवरुद्ध हुनुभन्दा अघि नै मर्मत भएको बताइएको छ।
सन् १९४२ को अगष्ट २५ मा यो विमानस्थलको घाँसे मैदानमा भारतको पटनाबाट आएको विमान नेपालमै पहिलोपटक अवतरण गरेको थियो । त्यसकारण पनि यसलाई नेपालकै पहिलो विमानस्थल र पहिलो पटक विमान अवतरण गरेको ऐतिहासिक विमानस्थल मानिन्छ ।
संघीय राजधानी काठमाडौंबाट सबैभन्दा छोटो हवाई दुरीमा रहेको यो विमानस्थलबाट १५ मिनेटमै काठमाडौं पुग्न सकिन्छ । पर्सा, बारा, रौतहट, सर्लाहीसम्मका यात्रु मात्र नभई भारतीय पर्यटकसमेत सेवा दिइरहेको सिमरा विमानस्थल कोरोनाकालमा अत्यधिक व्यस्त थियो । यसबाहेक वर्सेनि वर्षायाममा सडक मार्ग अवरुद्ध हुने गर्दा समेत यो विमानस्थलमा यात्रुको चाप बढ्ने गरेको छ ।