काठमाडौं। सरकारले डेढ अर्ब रुपैयाँ खर्चेर मेलम्चीको पानी अस्थायी रुपमा ल्याउने तयारी थालेको छ। असार १ गते आएको बाढीले आयोजनाको हेडवर्क्स सहितका संरचना क्षतविक्षत बनाएको थियो।
क्षति पुगेका संरचना पुनःनिर्माण सकेर पानी ल्याउन समय लाग्ने भएपछि तत्काल अस्थायी रुपमा पानी ल्याउने योजना बनाइएको मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशकले जानकारी गराएका छन्।नेपाली सेना र सडक विभागको सहयोगमा चैतसम्म राजधानी ल्याएर पानी नै वितरण गरिने योजना रहेको छ। आयोजनामा रहेको ड्राइभर्सन र अम्वाथानको अडिट टनेल सफा गरेर कफर ड्याम अस्थायी बाँध मार्फत पानी ल्याउन लागिएको हो। यो भन्दा अगाडी पनि आयोजनाले हेडवर्क्स तयार नहुँदा कफर ड्याम मार्फत पानी ल्याएको थियो।
सो आयोजनाले मेलम्ची बजारदेखि हेडवर्क्ससम्मको मुख्य प्रवेशमार्ग र ३ वटा बेलिब्रिज निर्माण गर्ने योजना बनाएको छ। जसमा सडक र पुलको काम सेना र सडक विभाग मार्फत गराउने योजना रहेको छ। यसका लागि करिव ३० करोड रुपैयाँ लाग्ने आयोजनको अनुमान छ। काम सुरु गर्न एक्सेस सडक अत्यावश्यक भएको कारणले गर्दा हाल आयोजनासम्म पुग्ने अस्थायी सडक बनाउन लागेका हो। डाइभर्सन टनेल, अडिट टनेल र हेडवर्क्स भित्रको भग्नावशेष संरचना सफा गर्ने, अस्थायी ड्याम बनाउने लगायतका कामहरु सिनो हाइड्रो मार्फत गराउन लागिएको छ। आयोजनाले नयाँ ठेक्का निकालेर प्रक्रिया सुरु गर्दा ६ महिना मुल्याङकनमै लाग्ने भन्दै भेरिएसन मार्फत काम गराउने योजना बनाएको छ।
त्यस्तै हेडवर्क्सको माटो सफा गर्न मात्रै ९० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। सो हेडवर्क्स जमिनको सतहबाट १० मिटर तल र पाँच मिटर पुरै बाढीले पुरेको छ। हेडवर्क्स भित्र २२ वटा इलेक्ट्रोमेकानिकल गेटहरु रहेका कारण सिधै स्काभेटर प्रयोग गरेर माटो हटाउँदा त्यसभित्रका संरचनाहरुमा असर पुग्न सक्ने आयोजनाको भनाइ रहेको छ। त्यस्तै हेडवर्क्सबाट दुई किमी तलतिरको नदी समेत सफा गर्नुपर्नेछ। त्यहाँबाट निस्केको माटो र ढुङगा व्यवस्थापनका लागि समेत चुनौती छ। ड्राइभर्सन,अडिट टनेल सफा गर्ने साइट क्याम्पको व्यवस्थापन लगायका कामका लागि ३० करोड लाग्ने अनुमान छ। पुनःनिर्माण सकेर स्थायी रुपमा पानी ल्याउन केहि बर्ष लाग्न सक्ने अनुमान गरिएको छ।
तिहारपछि मात्रै आयोजनाको निर्माण कार्य सुरु हुनेछ। काम काम सुरु गरेको दुई देखि साढे दुई महिनामा अस्थायी पथान्तरण गर्न सकिनेआयोजनाको दावी रहेको छ।आयोजनामा बाढीले क्षति पुर्याएपछि त्यसको प्राविधिक अध्ययनका लागि एसियाली विकास बैक एडीबीले विज्ञ सहितको टोली त्यहाँ पठाउने भएको छ। उक्त आयोजनाको अनुसन्धानका लागि हाइड्रोलोजिष्ट ,जियोलोजिष्ट सहितको विज्ञ टोली आउन लागेको आयोजना प्रमुखले जानकारी गराएका छन्। भेम्राथानमा पहिरो जाने अत्यन्त जोखिम भएकाले गर्दा एडीबीले अध्ययन आफ्नै लागतमा अध्ययन गर्न लागेको हो। जसले अल्पकालीन र दीर्घकालीन समस्या समाधानको सुझाव दिने छ।
तत्कालका लागि अस्थायी संरचनाबाट पानी पथान्तरण गरेर ल्याउन लागिएको छ। बर्खामा पानीको बहाब बढेपछि अस्थायी हेडवर्क्समा नै बगाउन सक्ने भएकाले अस्थायी पथान्तरण हिउँदमा मात्र सम्भव हुन्छ। माथिबाट पहिरो आइरहने जोखिम भएकाले तत्कालका लागि हिउँदमा मात्रै पानी ल्याउन लागिएको हो। काठमाडौंमा सुक्खायाममा पानी माग बढी हुने भएकाले हिउँदमा नै बढी पानी चाहिने हुँदा अस्थायी रुपमा नै पानी ल्याउन लागिएको हो।