काठमाडौं। म्याग्दीको पर्यटकीय स्थल टोड्केमा शिद्धबाबापार्क निर्माण गरिएको छ। रघुगंगा गाउँपालिकाले पार्क निर्माण गरेको हो।
रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्र समेटिएको पर्यटकीय टोड्केको भ्रमणमा जाने पर्यटकहरुलाई लक्षित गरि सो पार्क निर्माण गरिएको हो।
पर्यटन विभागको पर्यटन उपज साझेदारी कार्यक्रम अन्तरगत गाउँपालिका र विभागको साझेदारीमा रघुगंगा गाउँपालिका वडा नं. ५ झिँको शिद्ध सामुदायिक वनमा उक्त पार्क निर्माण गरिएको हो।
विभागको रु ७० लाख र गाउँपालिकाको रु ३१ लाख गरि रु १ करोड १ लाख लागत अनुमानको उक्त योजनामा खुसीहोम विल्डर्सले रु ६६ लाख ३२ हजार ८७ लाखमा ठेक्का सम्झौता गरेर पार्कको पूर्वाधार निर्माण गरेको हो। पार्क निर्माणको ७५ प्रतिशत भौतिक प्रगति भएको रघुगंगा गाउँपालिकाले जनाएको छ।
पार्कमा ४ वटा विश्रामस्थल, एक वटा फाउन्टेन र एक वटा भवन (घर) निर्माण गरिएको छ। जङ्गलको बिचमा खाली रहेका ठाउँहरुलाइ उपयोग गरि पदमार्ग समेत निर्माण गरिएको छ। पार्कभित्रको पदमार्गमा ढुंगाको सिँढी संगै ढुंगा छपाउने तयारी गरिएको छ। पार्कभित्र मात्रै १८२ मिटर पदमार्ग निर्माण हुनेछ।
झिँ गाउँदेखि पार्कसम्म जाने पदमार्ग समेत निर्माण गरिएको छ। महेन्द्र मावि झिँ देखि २४० मिटर रेलिङ सहितको पदमार्ग निर्माण सम्पन्न भैसकेको छ। पार्कभित्र ढुंगाका छपनी विच्छाउने, पार्क परिसरमा फुल प्रजातिका विरुवा रोपण र पार्कसम्म जाने पदमार्ग अन्तरगत भिरकुनामा प्रतिक्षालय बनाउने काम बाँकी रहेको बताइएको छ।
समुद्री सतहदेखि दुई हजार ३८० मिटरको उचाईमा अवस्थित टोड्केबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका आधा दर्जन हिमालहरुलाई अवलोकन गर्न सकिन्छ भने सुर्योदय, गुँरासे जंगल, पहाडी भुगोल र ग्रामिण मगर संस्कृतीको अवलोकनका हिसावले महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा परिचित छ।