काठमाडौं। सुर्खेतमा चार्जिङ स्टेसन निर्माण सुरु गरिएको छ। विद्युतीय सवारी चार्जका लागि सुर्खेतमा चार्जिङ स्टेसन निर्माण गर्न सुरु गरिएको हो।
नेपाल विद्युत प्राधिकरणले वीरेन्द्रनगर नगरपालिकास्थित बसपार्क क्षेत्रमा चार्जिङ स्टेसन निर्माण सुरु गरेको हो। यो कर्णाली प्रदेशको पहिलो चार्जिङ स्टेसन हुनेछ। नेपालभर ५१ स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणको लक्ष्य छ। सोहीअनुसार सुर्खेतमा पनि दुई वटा चार्जिङ स्टेसन निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ।
एउटा चार्जिङ स्टेशनमा ठूला बससहित तीनवटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने बताइएको छ। प्रत्येक चार्जिङ स्टेनमा १ सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिनेछ। चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०।६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरसमेत राखिने जनाएको छ।
विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत अहिले सबै प्रदेशमा चार्जिङ स्टेसन निर्माण कार्य भइरहेको हो। सबै प्रदेशका मुख्य राजमार्ग, बसपार्कलगायतका स्थानमा चार्जिङ स्टेसन निर्माण सुरु गरिएको छ। कारहरूमा औसत ७० पैसा, एसयूभीमा ८० पैसा, माइक्रोबसमा नब्बे पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा लागत बराबर प्रतिकिलोमिटर विद्युत खपत हुन्छ।
चार्जिङ स्टेसनमार्फत चार्ज गर्दा सवारी साधनमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा पूर्ण चार्ज हुने प्राधिकरणले जनाएको छ। आन्तरिक रुपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत् वातावरणमैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गर्न लागिएको हो।
चार्जिङ स्टेसनमा सफ्टवेयर राखिने र सबैको कन्ट्रोल काठमाडौंबाट हुने । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न जनाइएको छ।