सङ्खुवासभा। ४०० केभी क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा विवाद भएपछि सङ्खुवासभामा प्रसारण लाइन निर्माण हुन सकेको छैन।
प्रसारण लाइन विस्तार हुने सात जिल्लामध्ये छ जिल्लामा मुआब्जा वितरण गरी काम सुरु भइसके पनि सङ्खुवासभामा प्रसारण लाइन निर्माणमा विवादका कारण काम सुरु हुन नसकेको हो।
जनगुनासो आएपछि जिल्ला समन्वय समितिले सरोकारवालासँग छलफल आयोजना गरेको थियो। कार्यक्रममा सहभागीले अरुण तेस्रो परियोजनाबारे असन्तुष्टि व्यक्त गरेका थिए।
सङ्खुवासभामा प्रसारण लाइन निर्माण क्षेत्र निर्धारण गर्दा आफूहरू विस्थापित हुनुपरेको स्थानीयवासीको गुनासो छ। पावर हाउस निर्माण स्थल पुखुवा दोभानबाट तार घुमाएर गाउँको बीच भागबाट प्रसारण लाइन निर्माण गरिँदा खेतीयोग्य जमिन मासिएको र जनजीवन जोखिममा रहेको स्थानीयवासीको गुनासो हो। आयोजनाले खेतीयोग्य जमिनको साटो छोटो दूरीसमेत रहेको जङ्गल क्षेत्रबाट प्रसारण लाइन निर्माण गर्न चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले सुझाव दिए।
कतिपय ठाउँमा पहिले निर्धारण गरिएकोदेखि ‘एलाइनमेन्ट’ परिवर्तन गरिएको बताइएको छ।
चिचिला गाउँपालिका–३, पुखुवामा निर्माण भइरहेको विद्युत्गृहबाट खाँदबारी नगरपालिका–१०, आङ्ला गाउँ हुँदै सिधै भोजपुर तार्न सकिने नजिकको मार्ग हुँदाहुँदै गाउँबस्तीमा प्रसारण लाइन घुमाएको भन्दै स्थानीयवासीले विरोध गरेका हुन्। अहिले तय गरिएको मार्गबाट प्रसारण लाइन निर्माण गरे छ्याङ्कुटीडाँडा र ठूलो ढुङ्गा पर्यटन क्षेत्रमा असर पुग्ने खाँदबारी नगरपालिका–४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङको दाबी छ।
हाल तयार गरिएको रुटअनुसार गाउँबाट नै प्रसारण लाइन राखिए पनि चार घर मात्र विस्थापित हुने लगानीकर्ता सतलज जलविद्युत् निगमका इन्जिनियर नवराज थापाले जानकारी दिए। सङ्खुवासभामा ५९ वटा टावर राखिने र १८ दशमलव ९३ किलोमिटर तार टाँग्नुपर्ने इन्जिनियर गौतमले जानकारी दिनुभयो । यसका लागि करिब ८० रोपनी जग्गा आवश्यक पर्ने उनको भनाइ छ।
सङ्खुवासभाको चिचिला गाउँपालिकादेखि महोत्तरीको ढल्केबरसम्म निर्माण गरिने यो प्रसारण लाइनका लागि अरू सबै जिल्लामा मुआब्जासमेत उपलब्ध गराएर धमाधम काम भइरहेको छ।
छोटो दूरी हुने जङ्गल क्षेत्रबाट नभई गाउँबस्तीबाट नै प्रसारण लाइन विस्तार गर्नुको कारण र गाउँबाट प्रसारण लाइन विस्तार गर्दा जनस्वास्थ्य र जीविकोपार्जनमा पर्ने दीर्घकालीन असरबारे स्पष्ट जानकारी आउनुपर्ने स्थानीयवासीको माग छ।
यसको असरबारे नेपाल विद्युत् प्राधिकरण र लगानी बोर्डलगायतका सरकारी निकायले स्थानीयवासीलाई आश्वस्त पारेपछि मात्र जग्गा अधिग्रहण गर्न दिइने खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले बताए। गोरखापत्रबाट