रूपन्देही। बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर ब्रिज (पुल) निर्माणका लागि तयारी शुरू गरिएको छ । चिनियाँ, भारतीय, स्वीस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक्ट र स्ट्रक्चर डिजाइन तयार भइसकेको छ । नेपाली र विदेशी इन्जिनीयरहरूको टोलीले पुलको आर्किटेक्ट डिजाइनको सम्बन्धमा छलफल गरेको छ।
बुटवल उपमहानगरपालिकाको कार्यालयमा विश्व बैंकका प्रतिनिधिले जनप्रतिनिधि र सरोकारवालासँग पुलको आर्किटेक्ट डिजाइन, यसले ओगट्ने क्षेत्र र पार्ने प्रभावका बारेमा छलफल गरेका छन्। पुल निर्माणको प्रक्रिया अघि बढाउन बुटवलमा आएका विश्व बैंकका प्रतिनिधिलाई पुल निर्माणमा उपमहानगर सहकार्य गर्न तयार रहेको र बुटवलको आवश्यकताको विषय रहेको बताइएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । पुल निर्माणका क्रममा आवश्यक पर्ने जग्गा व्यवस्थापन र पुल आसपासको क्षेत्रको बस्तीका बारेमा थप अध्ययन गरेर निर्णय गर्ने जानकारी गराएको उनको भनाइ छ।
पुलको डिजाइन तयार पार्ने क्रममा पुलको पूर्वी प्रवेशद्वार नजिकै राधाकृष्ण टोल र विकास पथका बीचमा भूमिगत सडक जोड्ने र पश्चिमतर्फको मार्ग पनि कायमै रहने गरी डिजाइनलाई अन्तिम रूप दिन उपमहानगरले सुझाव दिएको छ। ‘यो सामान्य पुलमात्र हुनेछैन, यसले जितगढी किल्ला, युद्ध संग्रहालय, बुटवलको पुरानो बस्ती, हिन्दू मन्दिर र मुस्लिम मस्जिदका बीचमा समेत मैत्रीभाव राख्ने सन्देश दिनेछ,’ उनले भने ।
‘जितगढी किल्ला, युद्ध संग्रहालय, पुरानो बुटवल, आसपासका धार्मिक र पर्यटकीय स्थलहरूको अवलोकन गर्न पुलले सहयोग गर्नेछ,’ उनले भने, ‘पुल र यहाँका ऐतिहासिक, पुरातात्त्विक स्थल एकअर्काका सहयोगी बन्नेछन्, यसबाट पर्यटक आकर्षित हुनेछन् र स्थानीयवासीको व्यापार व्यवसायमा लाभ हुनेछ।’
सिग्नेचर ब्रिज निर्माणका लागि यसअघि पनि बुटवलमा छलफल भएको थियो । यो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पुल निर्माण कोसेढुंगा सावित हुने उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्। ‘यसले बुटवलको विकासमा ठूलो महत्त्व राख्ने भएकाले योजना सम्पन्न गर्न उपमहानगरको साथ र सहयोग रहन्छ,’ उनले भनिन्।
विश्व बैंक दक्षिण एशिया शहरी विकास एकाइकी वरिष्ठ शहरी विकास योजनाकार स्टेफनिया अबकेर्ली तिनाउमा बन्ने पुल नेपालकै नमूना र पर्यटकीय स्थलहरूसँग जोडिएकाले यसले स्थानीय बासिन्दा र स्थानीय सरकारलाई लाभ दिलाउने बताउँछिन्। ऐतिहासिक र पर्यटकीय स्थलहरू जितगढी किल्ला र युद्ध संग्रहालयमा पर्यटक आउन पुलले समेत सहयोग पुर्याउने उनको विश्वास छ । स्थानीय सरकारका तर्फबाट पुल निर्माणका लागि स्थानीय रूपमा समन्वय गरिदिन बुटवल उपमहानगरपालिकालाई योजनाकार अबकेर्लीले आग्रह गरिन् ।
सिग्नेचर ब्रिजका लागि भारतमा मुख्य कार्यालय रहेको अन्तरराष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक्ट डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरेको छ ।
विश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक सिग्नेचर ब्रिज डिजाइनका लागि यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री तथा रूपन्देहीका सांसद विष्णुप्रसाद पौडेलले बजेट विनियोजन गरेका थिए ।
के हो सिग्नेचर ब्रिज ?
पुलको आधुनिक प्रकार हो, सिग्नेचर ब्रिज । यो अन्य पुलको तुलनामा निकै आकर्षक हुन्छ । अधिकांश शहर नजिकैका नदीहरूमा इन्जिनीयरहरूले सिग्नेचर ब्रिज डिजाइन गर्छन् । इरासमस ब्रिज, रोटर्डाम ब्रिज, लण्डनको मिलेनियम ब्रिज, अल्मिलिया ब्रिज आदि सिग्नेचर ब्रिजका नमूना हुन् । ‘यो पुल जहाँपायो त्यहीँ बन्दैन । निश्चित ठाउँमा मात्र बनाइन्छ,’ बुटवल उपमहानगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनीयर गौतम रौनियारले भने ।
लागतको हिसाबले निकै महँगो मानिने सिग्नेचर ब्रिजको अवधारणा भारतबाट शुरू भएको मानिन्छ । भारतको यमुना नदीमा रहेको वाजिरवाद र पूर्वी दिल्ली जोड्ने यमुना नदीका पुल भारतका पहिला सिग्नेचर ब्रिज हुन् । सिग्नेचर ब्रिज सिमेट्रिकल आकारमा निर्माण गरिन्छ । त्यसले पुलको सम्पूर्ण भार थाम्ने गर्छ । पछिल्लो समय एसिमेट्रिकल आकारमा पनि सिग्नेचर ब्रिज निर्माण गर्ने प्रचलन छ । सिग्नेचर ब्रिजको डिजाइन निकै जटिल हुने गर्छ ।