काठमाडौं। गण्डकीको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला जोड्ने सडकमा मोटरेबल पुल निर्माण भएको छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा एक सय २० मिटर लामो मोटरेबल पुल निर्माण भएको हो। तत्कालीन जिल्ला विकास समिति मुस्ताङले ठेक्का लगाएको पुल निर्माणकार्य सुरु भएको सात वर्षपछि सकिएको हो।
पूर्वाधार विकास कार्यालय मुस्ताङका अनुसार एक्लेभट्टी–पाक्लिङ सडक पुल निर्माणका लागि विसं २०७२ असार ३१ गते एलाइट शङ्करमाली जेभीसँग रु १२ करोड १३ लाख ८५ हजारमा ठेक्का सम्झौता भएको थियो। ७.३ मिटर चौडाइ भएको पुलमा ४०–४० मिटरको दूरीमा तीनवटा स्पाम छन्। सङ्घीयता कार्यान्वयनसँगै पूर्वाधार विकास कार्यालय म्याग्दी हुँदै मुस्ताङलाई पुल निर्माणको जिम्मेवारी हस्तान्तरण भएको थियो।
पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी रविन चोखालले बहुप्रतिक्षित एक्लेभट्टी–पाक्लिङ सडक पुल निर्माण सकिएको जानकारी दिए। कार्यालयको टोलीले पुलको प्राविधिक नापजाँच गरेको छ। पुल निर्माणका लागि भएको सम्झौताको म्याद छपटक थपिएको थियो। प्राविधिक कमजोरीलाई कारण देखाएर निर्माण कम्पनी मुद्दा प्रक्रियामा पनि गएको थियो। कालोसूचीमा राखी कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि एलाइट शङ्करमाली जेभीले पछिल्लो समय युनिस निर्माण सेवालाई सहायक ठेकेदार नियुक्त गरेर काममा पठाएको थियो।
युनिस निर्माण कम्पनीका प्रतिनिधि निकेश श्रेष्ठले अलपत्र अवस्थामा रहेको पुल निर्माणकार्यलाई करिब १८ महिनाको अवधिमा पूर्णता दिएको बताए। मूल सडकबाट पुलसम्म पुग्ने दुईतर्फ एक सय ३० मिटर सडक पनि निर्माण भएको छ।
एक्लेभट्टीमा पुल निर्माण भएपछि पाक्लिङ, साङ्तालगायत बस्तीका बासिन्दालाई आवतजावत, स्याउ, भेडा–च्याङग्रा, चौँरी निकासी गर्न सुविधा पुगेको छ। सवारीसाधनलाई कालीगण्डकी तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ। एक्लेभट्टी हुदै डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको दुई जिल्लाको सिमाना याकखर्कसम्म मार्ग खुलेको छ।
डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने सांसद प्रेमप्रसाद तुलाचनले बताए। हप्तौं लगाएर मुस्ताङ आउने उत्तरी डोल्पाबासी एकै दिनमा आउन सक्नेछन्।