काठमाडौं। नेपाली कांगेस पाँचथरबाट प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवार सिफारिस भएका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले ‘राँके–रवि–भेडेटार’ सडक आयोजनाले आफूलाई पर्खेको बताएका छन् ।
कांग्रेसवृत्तमा यस पटक पाँचथरमा चुनाव जितेलगत्तै आङ्देम्बेलाई भौतिक पूर्वाधारमन्त्री बनाउन कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा तयार रहेको चर्चा चलेका बेला उनको यो अभिव्यक्ति आएको हो ।
उनले राँके–रवि–भेडेटार आफ्नो योजना भन्दै आफैंले निर्माण सम्पन्न गर्ने दाबी पनि गरे । ‘दोस्रो संविधानसभामा मलाई पाँचथरवासीले जिताएपछि दुई वर्ष संविधान निर्माणमा खर्चिएँ भने बाँकी अवधिमा मैल राँके–रवि–भेडेटार सडक निर्माणको योजना अघि सारें र तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले रणनीतिक योजनामा राख्नुभयो’, उनले भने, ‘सोही योजनालाई वसन्तजीले तत्कालीन प्रधानमन्त्रीलाई रवि लगेर शिलान्यास गर्नुभयो तर निर्माण भएन । यो योजनाले मलाई पर्खेको छ । मै सम्पन्न गर्नेछु ।’
सरकारले राँके–रवि–सडक आयोजनालाई कोसी कोरिडोरको विकल्पमा निर्माण गर्ने लक्ष्य राखेको हो । पूर्वी पहाडका तीन जिल्ला पाँचथर, इलाम, धनकुटासँगै मोरङको उत्तरी क्षेत्रका स्थानीय लाभान्वित हुने सडक निर्माण हुँदा कृषि र वन पैदावरको बजारीकरणमा सहज हुनेछ ।
सडकको शिलान्यास २१ पुस २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरको रविमा गरेका थिए । करिब साढे १० महिनापछि ओलीले पाँचथरबाट निर्वाचित सांसद नेम्बाङलाई नै उक्त सडकसमेत निर्माण गराउने भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी ओलीले दिए ।
तर, २० महिना मन्त्री हुँदासम्म नेम्बाङले २० प्रतिशत पनि निर्माण सम्पन्न गराउन सकेनन् । उनको पटकपटको निर्देशनलाई ठेकेदार कम्पनीले पत्याएनन् । सोही कारण सडकको हालत हिलाम्मे छ । सवारी साधन आवातजावतमा समस्या छ ।
सडक निर्माण भने २१ पुस २०७८ मा हुनुपर्ने हो तर काम खासै नभएपछि नेम्बाङप्रति जिल्लावासी आक्रोशित हुँदा आङ्देम्बेले भने आफैं निर्माण गराउने दाबी गरेका हुन् ।
हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व कांग्रेसले नभई जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इस्तियाक राईले सम्हालेका छन् । तर, राँके–रवि–भेडेटार सडकप्रति उनको चासो छैन ।