सल्यान। सिद्धकुमाख गाउँपालिका–१ स्थित बाझकाँडा सिँचाइ योजना ३८ वर्षदेखि अलपत्र परेको छ । चाक्लिघाट, पटारे र बाझकाँडाका झन्डै ३ सय किसान परिवारको खेतमा सिँचाइ सुविधा पुर्याउने गरी २०४१ सालमा सिँचाइ योजनाको काम सुरु गरिएको थियो ।
झन्डै ९० प्रतिशत काम सकिएको सिँचाइ योजना अलपत्र परेपछि स्थानीय किसानको जग्गा पाखोमा परिणत भएको छ । बजेट अभावका कारण मोख्ला नजिकैको शारदा नदीबाट पानी ल्याएर बाझकाँडा, चाक्लिघाट, पटारे आसपासका जग्गामा सिँचाइ गर्ने गरी सुरु गरिएको योजना अलपत्र परेको हो । अहिले सिँचाइ योजनाको आधाभन्दा बढी कुलो पुरिएको छ । योजनाअनुसार झन्डै ६ किलोमिटर टाढाबाट पानी ल्याएर चाक्लिघाट, पटारे र बाझकाँडामा सिँचाइ सुविधा पुर्याउन थालिएको थियो ।
सिँचाइ योजना अलपत्र पर्दा झन्डै ३ सय किसान परिवार समस्यामा परेको स्थानीय वीरबहादुर चलाउनेले बताए । उनका अनुसार आसपासको झन्डै १ हजार रोपनी जग्गामा सिँचाइ सुविधा पुर्याउने गरी योजना सुरु गरिएको थियो । सिँचाइ सुविधा भएको गाउँ आसपासका जग्गामा वर्षमा ३ बाली लगाउन सकिने उनले बताए । ‘मैले नै कुलो बनाउँदा एक महिनासम्म श्रमदान गरेको थिएँ,’ उनले भने, ‘हाम्रो श्रमदान पनि खेर गयो, सरकारी बजेटको पनि दुरुपयोग भयो, हामीले अझैंसम्म सिँचाइ समस्या भोगिरहेका छौं ।’
उनले सिँचाइ अभावमा खेतहरू पाखोबारीमा परिणत भएको गुनासो गरे । उनका अनुसार लामो समयदेखि सिँचाइ हुन छाडेपछि जग्गा बाँझिने क्रम बढिरहेको छ । अहिले आकाशे पानीको भरमा मात्र गाउँमा खेती भइरहेको उनले बताए । ‘सिँचाइ नहुँदा अधिकांश खेतहरू बाँझिएका छन्,’ उनले भने, ‘सिँचाइकै कारण उर्वर फाँट रुखो बनेको छ ।’ उनका अनुसार ५ दशक अघिसम्म गाउँमा उत्पादित अन्न जिल्ला बाहिरसमेत पठाइन्थ्यो ।
वर्षभरि खान पुग्ने खेत बाँझै भएपछि जीविकोपार्जनमा समस्या भएको अर्का किसान टक्कबहादुर विकले बताए । ‘परम्परागत खेतीमा निर्भर भए पनि बर्सेनि जीविकोपार्जनको चिन्ता हुन्छ,’ उनले भने, ‘सिँचाइ भए व्यावसायिक तरकारी खेती पनि गर्न सकिन्थ्यो ।’ राजनीतिक पहुँच नहुँदा सिँचाइ योजना अलपत्र परेको उनको गुनासो छ ।
सिँचाइको अभावमा बर्सेनि खाद्यान्न अभावको समस्या भोग्नुपरेको स्थानीय पूर्णबहादुर केसीले बताए । ‘सिँचाइ सुविधा भए गाउँ आसपासका जग्गामा वर्षमा ३ बाली लगाउन सकिन्थ्यो, अहिले सबै खेतहरू पाखोबारीमा परिणत भएका छन्,’ उनले भने, ‘लामो समयदेखि सिँचाइ हुन छाडेपछि अधिकांश खेतमा घाँस उम्रिन थालेको छ ।’ उनले आकाशे पानीको भरमा मात्र गाउँमा खेती भइरहेको बताए । केही किसानले सडक नजिकैका खेतहरू घडेरी बनाएर बिक्री गर्न थालेको उनले जानकारी दिए । धान बाली उत्पादन गर्न सकिने जग्गा पाखोमा परिणत भएपछि अहिले मकै, गहुँ र आलु मात्र खेती भइरहेको उनको भनाइ छ ।
सिँचाइ निर्माण उपभोक्ता समितिका पूर्व कोषाध्यक्ष सुकदेव बोहराका अनुसार पञ्चवर्षीय योजनाअन्तर्गत २०४२ देखि ०५० सम्म झन्डै ७० लाख रुपैयाँ योजनामा खर्च भइसकेको छ । ‘०५२ सालमा सशस्त्र द्वन्द्व सुरु भएपछि योजनामा बजेट पर्न छोड्यो,’ उनले भने, ‘शान्ति स्थापनापछि सबैजसो दलका नेतालाई सिँचाइ योजना पूरा गर्न कैयौंपल्ट आग्रह गरियो, तर कसैले वास्ता गरेनन् ।’ उनले सिँचाइ योजना पूरा नहुँदा आफ्नो १० रोपनी जग्गामा आकाशे पानीको भरमा खेती भइरहेको बताए । धान उत्पादन नहुँदा अहिले बाहिरको चामलको भर पर्नुपरेको उनको गुनासो छ ।
सिद्धकुमाख गाउँपालिका–१ का वडाध्यक्ष रमेश चलाउनेले पुरानो योजना भएकाले संघीयतापछि उक्त सिँचाइ योजनामा कुनै पनि निकायले बजेट विनियोजन गर्न नमानेको बताए । विगतमा राप्ती राजमार्ग निर्माण कार्यले पनि उक्त सिँचाइ योजनाको काम धेरै प्रभावित भएको उनको भनाइ छ । उनका अनुसार सडक छेवैको सिँचाइ योजना भएकाले अधिकांश कुलो सडकले पुरिसकेको छ । ‘वडामा आउने सानो बजेटले ठूलो सिँचाइ योजना निर्माण गर्न सकिन्न,’ उनले भने, ‘प्रदेश र संघीय सरकारका विभिन्न निकायमा पटकपटक बजेट माग गरे पनि बेवास्ता भयो ।’ अलपत्र परेका पुराना योजना माथिल्ला निकायबाटै स्थगित भएकाले पछिल्ला वर्षमा बजेट नपरेको खानेपानी तथा ऊर्जा विकास कार्यालयका प्रमुख पदमराज देवकोटाले बताए । कान्तिपुरबाट