पाल्पा। सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको डेढ दशकपछि पाल्पाको निस्दीमा बिजुली बत्ति बलेको छ। निस्दी–४, मित्याल लामेदमारमा बिजुली पुगेको हो।
यहाँका बासिन्दाले बिजुली बत्ती बाल्ने रहरले १५ वर्षअघि पाँच हजारदेखि १० हजारसम्म रकम सामुदायिक विद्युतीकरण योजनाका लागि बुझाएका थिए ।
डेढ दशकअघि बत्ती बाल्ने रहरले यहाँका बासिन्दाले घरको खसी, बोका, बङ्गुर र पाडो बेचेर रकम बुझाएका थिए । यद्यपि, बत्ती भने समयमै बाल्न पाएका थिएनन् । रकम बुझाएको १५ वर्षपछि लामेदमारका ५५ घरधुरीले बिजुली बत्ती बाल्न पाएका छन्।
बिजुली बत्तीका लागि पटक–पटक गाउँलेले सामुदायिक विद्युतीकरण उपभोक्ता समिति, विद्युत् प्राधिकरण र जनप्रतिनिधिलाई आग्रह गरेका थिए । तर कतैबाट पनि आफूहरूको माग सम्बोधन हुन नसकेको उनीहरूको भनाइ छ ।
लामो समयको पर्खाइपछि गाउँमा बिजुली बत्ती बलेपछि स्थानीय बासिन्दा खुसी भएका छन्। लामेदमारसहित बेलखरक, गोठडाँडा, खोर्मोक, रिपाहा, पोखरादहर, थोक्सिबास गाउँका करिब एक सय घरमा केही दिनपछि नै बत्ती बल्ने निस्दी गाउँ कार्यपालिकाले जनाएको छ।