काठमाडौं। आर्थिक वर्ष २०७८/०७९ सम्ममा १३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनमार्फत शिक्षाको सोचपत्र २०७९ को सार्वजनिक गर्दै १३ हजारभन्दा बढी सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारको निर्माण भएको जानकारी दिएको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले करिव २७ हजार सामुदायिक विद्यालयमध्ये १३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण भएको जानकारी दिए । उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, पुनर्निर्माण प्राधिकरण, स्थानीय र प्रदेश सरकार, भारतीय दूतावास र विभिन्न दातृ निकायहरुबाट गरी विद्यालयको पूर्वाधार निर्माण भएको स्पष्ट पारे ।
उनले बाँकी विद्यालयहरुको पूर्वाधार निर्माण ३ वर्षभित्रमा गरिसक्ने लक्ष्य लिइएको बताए । मन्त्री पौडेलले बाँकी रहेका विद्यालयहरुमा के–के पूर्वाधारहरुको आवश्यक रहेको छ भन्नका लागि नक्शांकन शुरु गरिएको बताए ।
उनले विद्यालय शिक्षा सम्बन्धी विधेयक, उच्च शिक्षा सम्बन्धी विधेयक, प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धी विधेयक, राष्ट्रिय योग्यता प्रारुप सम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा सम्बन्धी विधेयकहरुको मस्यौदा तयार भइ सहमतिका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइएको पनि बताए । त्यस्तै शिक्षक सेवा आयोग नियमावलीको ११ औं संशोधन लगायतका अन्य नीतिगत तथा कानूनी सुधारका काम पनि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शिक्षक बढुवा र खुला पदपूर्तिको विज्ञापन गरी परीक्षा सञ्चालन भएको तथा बढुवाको नतिजा प्रकाशन भइ सिफारिस समेत भइसकेको जनाएको छ । त्यसैगरी पढ्दै कमाउँदै कार्यक्रम १४० विद्यालयमा सञ्चालनमा आएको बताएको छ । मन्त्रालयले ७७ वटै जिल्लाका कक्षा ५ सम्मका कुल ३२ लाख ४० हजार ६८८ जना बालबालिकाहरुलाई दिवा खाजा उपलब्ध गराउने व्यवस्था मिलाएको पनि उल्लेख गरेको छ ।