बागलुङ। गत असारमा खसेको पहिरोले बन्द भएको बागलुङको मालढुंगादेखि कुश्मीसेरा जाने सडक भदौ पहिलो साता तीन दिन अस्थायी रुपमा खुल्यो । भदौ ७ को वर्षाले फेरि अबरुद्ध भयो । त्यसपछि अझै कहिले खुल्ने निश्चित छैन । चार बर्ष अघि कालोपत्र गरिएको यो सडकको गलुवा भन्ने स्थानमा खसेको पहिरोले हरेक बर्ष तीन महिना अबरुद्ध हुने गरेको छ ।
अघिल्लो वर्षदेखि खस्न थालेको पहिरोले गत वर्ष पनि तीन महिना सवारी चल्न सकेनन् । यो वर्ष पनि असारदेखि संचालनमा आउन नसकेको यो सडक कहिले खुल्छ भन्ने अन्योल हुँदा दक्षिण बागलुङवासीले सास्ती खेपेका छन् ।
खुल्दा पनि अस्थायी ट्र्याकमा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता छ । यहाँको पहिरोले मालढुंगा कुश्मीसेरा सडक खण्डको दुई वटा घुम्ती पुरै बगेको छ । सडक भित्ताको तारजाली समेत बगेपछि सडकको नयाँ ट्र्याक खोल्नै सास्ती हुने भएको हो । झन्डै ५० मीटर चौडाइको दुइवटा घुम्ती बग्दा पैदल यात्री पनि हिँड्न नसकी पर्वतको कुश्मा देखि घुमाउरो बाटो हिड्न बाध्य छन् ।
कुश्माको बाटो आउँदा चार किमी नजिकको गाउँलेले २० किमी बढी यात्रा गर्न बाध्य छन् । त्योपनि कुश्मासम्म सवारी साधनमा गएपछि झोलुंगे पुल तरेर बाँकी खण्ड पैदल यात्रा गर्नुपर्नेछ । पहिरोले करिडोर समेत जोखिम बनाएको छ । दैनिक उपभोग्य सामग्री ढुवानी देखि बिरामी बोक्ने एम्बुलेन्स पनि हिँडाउन नसकेपछि बागलुङको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकावासीले दुःख पाएका हुन् ।
बलेवा क्षेत्रका विद्यार्थी र शिक्षकले समेत आफ्नै सवारी साधन भएर पनि पैदलै हिँड्न बाध्य छन् । ‘घरैसम्म कालोपत्र सडक छ, तर आफ्नो सवारी सदरमुकाम छाडेर पैदल यात्रा गर्न बाध्य छौं’ बागलुङ नगरपालिका–१३ का बालकृष्ण शर्माले भने, ‘यो सास्ती कहिले सम्म ’ बिरामी भएकी आमालाई बोकाएर अस्पताल लाने ल्याउने गर्न बाध्य भएको उनले गुनासो गरे ।
यो सडकको विकल्पको रूपमा रहेको कालीगण्डकी करिडोर समेत पटक पटक अबरुद्ध भइरहेको छ । पानी पर्दा निरन्तर ढुंगा खस्ने समस्याले करिडोरको बाटो सवारी चल्न सकेका छैनन् । गलुवादेखि नेपाने तर्फको भीरमा निरन्तर ढुंगा खस्ने समस्या हुँदा बिकल्पको बाटो पनि प्रयोग गर्न नसकिएको बागलुङ नगरपालिका वडा नं १४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए । तीन वर्षअघि गलुवादेखि भकुन्डे जाने नयाँ ट्र्याक खोल्ने क्रममा खसेको पहिरो अहिले बस्ती र सयौं रोपनी खेतसमेत बगाएको छ । यहाँका चार घर बिस्थापित भैसकेका छन् भने कतिपय घरगोठ जोखिममा छन् ।
गत वर्ष दसैंमा पनि बागलुङ नगरपालिकाले २० लाख खर्चेर सडकको ट्र्याक खोलेको थियो । उक्त ट्र्याकमा हिउँदमा समेत जोखिम थियो । ‘पानी पर्नासाथ पहिरो खस्छ, सडक त बच्दैबच्दैन’ स्थानीय उमाकान्त रिजालले भने, ‘घर जाने छाटो बाटो छाडेर घुमाउरो हिँडेका छौं ।’ लाखौं खर्चेर पनि सडक बनाउन कठिन हुने उनले बताए । बागलुङ नगरपालिकाले दशैकालागि सडकको अस्थायी ट्रयाक खोल्ने पहल गरेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए ।
‘जनताले चाडपर्वमा घर जान पाउनुपर्छ भनेर केही खर्चेर अस्थायी ट्र्याक बनाउन खोजेका छौं,’ सापकोटाले भने, ‘त्यसका लागि पनि ५ लाख खर्च होला ।’ स्थायी संरचना बनाउनु परेमा करोडौं खर्च लाग्ने उनले बताए । पहिरो संरक्षणकालागि भने बिरुवा रोप्ने काम नगरपालिकाले गर्ने उनले बताए । यो पहिरो पन्छाएर सडक सुचारु गर्ने जिम्मा भने सडक डिभिजनको हो ।
डिभिजनबाट भने तीन महिनासम्म अबरुद्ध सडक हेर्न पनि कोही गएका छैनन् । उक्त पहिरो पन्छाउन बागलुङ र जैमिनी नगरपालिकाले भने पटक पटक खर्चेका छन् । आफ्नै डोजर नियमित राखेर पनि पटक पटक पहिरो पन्छाउने काम गरेका थिए । अहिले भने पहिरो पन्छाउनै नसक्ने गरी खसेपछि सास्ती भएको हो । कान्तिपुरबाट