काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले टिआरपि बढाउनकै लागि निर्माण व्यवसायीहरुको मानमर्दन हुने किसिमले समाचार नबनाउन पत्रकारहरुलाई आग्रह गरेका छन्। महासंघद्वारा आयोजित 'पूर्वाधार बिटका सञ्चारकर्मीलाई अभिमुखीकरण कार्यक्रम' मा स्वागत मन्तव्य राख्दै अध्यक्ष सिंहले वास्तविकता बुझेर मात्र कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका हुन्।
उनले निर्माण व्यवसायीलाई पत्रकारको खबरदारी निरन्तर जरुरी रहेको समेत बताए। पत्रकारले आफूहरुलाई अझ जिम्मेवारी बनाउने तर केही अतिरञ्जित समाचारका कारण निर्माण व्यवसायी हतोत्साहित हुने गरेको भन्दै अध्यक्ष सिंहले समाचार बनाउँदा सबै पक्षको धारणा सुन्नुपर्ने बताए।
अध्यक्ष सिंहले केही समयअघि आफ्नै बारेमा आएको एक समाचारका विषयलाई जोड्दै भने, ‘गत महिना एउटा निर्माण कार्यको विषयमा मलाई लालछना लगाएर समाचार आयो। समाचारमा कम्पनीको नाम, सम्झौताका विषय, भुक्तानीका कुरा केही उल्लेख छैन। कम्पनीको धारणा बुझ्न सम्म खोजिएन। केवल महासंघको अध्यक्ष भएको नाताले मेरो नाम राखेर मानमर्दन हुने गरी समाचार प्रकाशन गरियो। जनचासो बढ्छ र टिआरपि बढ्छ भन्दैमा यस्तो अतिरञ्जित समाचार नबनाइदिनु हुन म अनुरोध गर्छु।’
अध्यक्ष सिंहले देशमा विकास निर्माणको कामलाई अघि बढाउनमा पत्रकारको महत्वपूर्ण भुमिका रहने भन्दै आगामी दिनमा विस्तृत जानकारी राखेर मात्र समाचार प्रकाशन गर्न आग्रह गरेका छन्। उनले निर्माण व्यवसायीले लामो समयदेखि झेल्दै आएका विभिन्न समस्याहरुको समाधान गर्दै अघि बढ्नमा पत्रकारहरुले ठूलो सहयोगी भुमिका निर्वाह गरेको समेत बताए। उनले आफूहरुको समस्याका बारेमा पत्रकारले जनतालाई सूसुचित गर्ने, सरकारलाई खबरदारी गर्न, सम्बन्धित निकायलाई झक्झक्याउन कमल चलाएको प्रति धन्यवाद दिँदै केही विरोधका लागि मात्र लेखिने समाचारले भने आफूहरुलाई हतोत्साहित बनाउने गरेको बताए।
निर्माण बिटमा काम गर्ने पत्रकारलाई निर्माण उद्योगबारेमा जानकारी दिन, निर्माण क्षेत्रका हरेक समस्या निर्माण व्यवसायीका कारण मात्र नभएर समस्या हुने अन्य सम्भावनाहरुका बारेमा जानकारी दिनका लागि महासंघले प्रेस काउन्सिलको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरेको थियो।