खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१५ विजयखर्कमा भूमिहीनका लागि निर्माण गरिएको रामनाथ एकीकृत नमुना बस्तीमा बाख्रा राखिएको पाइएको छ । भूकम्प पीडितका लागि निर्माण गरिएको घरको कोठामा बाख्रा‚ दाउरा, मकैको खोस्टा र ढोड राखिएको पाइएको हो ।
२०७५ मा निर्माण सुरु गरिएको बस्तीमा एक करोड रुपियाँभन्दा बढी खर्च भइसकेको छ । २०७७ सम्म आइपुग्दा १९ वटा घर निर्माण गरेर जस्तापाता हालिएको थियो । १९ वटा मध्ये २ वटा घरमा झ्याल र ढोका हालेर भूकम्पपीडित बसेको पाइएको छ । अन्य घरमा रङरोगन, भुईँ ढलानदेखि झ्याल र ढोका लगाउने कुनै काम भएको छैन । बस्तीमा एउटा मात्र सामान्य बाँसको भाटाले बारेको शौचालय निर्माण गरिएको छ । खानेपानीको सुविधा अहिलेसम्म छैन । विधुत विस्तार पनि अहिलेसम्म भएको छैन ।
२०७२ को भूकम्पबाट पीडितका लागि निर्माण गरिएको एकीकृत बस्ती योजना सम्पन्न नहुँदै अलपत्र परेको छ । स्थानीय शारदाप्रसाद ढकाल र कृष्णकुमारी ढकालले सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराएर निर्माण सुरु गरिएको बस्तीको वरिपरि झारपात पलाएर झाडीमा परिणत भएको छ ।
एकीकृत बस्तीका लागि हालसम्म राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट १९ घर लाभग्राहीले पाउने ३ लाखमध्ये २ लाख ५० हजारका दरले ४७ लाख ५० हजार, तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन), ओखलढुङ्गाको ५२ लाख रकम भुक्तानी भएको निर्माण समितिका संयोजक प्रमेस ढकालले बताए ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भत्किएको ठाउँमा वाल निर्माण गर्न एक लाख, गेट निर्माण गर्न ९४ हजार र दुई वटा सोलार बत्ती दिएको छ । घर निर्माणअघि जग्गा सम्म्याउने काम पनि नगरपालिकाले गरेको ढकालको भनाइ छ ।
आयोजना कार्यान्वयन इकाईको रकम मशिनरी वाल र नाली निर्माणका लागि प्रयोग भएको हो । लाभग्राहीको २ लाख ५० हजारका दरले घर निर्माण भएको छ । पहिलो किस्तामार्फत लाभग्राहीले बुझेको ५० हजारले झ्याल ढोका, शौचालय निर्माण गर्ने सहमति भएको ढकालको भनाइ छ । सम्झौताअनुसार लाभग्राहीले झ्यालढोका हालेर बस्तीमा नबसेको ढकालको आरोप छ ।
एकीकृत बस्तीमा भ्यूटावर, मन्दिर, स्टेज, चिल्ड्रेनपार्क लगायका संरचना निर्माण गर्नेगरी सुरु गरिए पनि रकम अभाव भएको भन्दै अहिलेसम्म कुनै काम सुरु नभएको स्थानीयको भनाइ छ । डा. नरेश रिमालको आर्थिक सहयोगमा एकीकृत बस्तीसँगै जोडेर फूलबारी नेशनल स्कुल सञ्चालनमा ल्याइएको छ ।
भूकम्पले घर भत्काएर बस्ने ठाउँ नै नभएकाका लागि एकीकृत बस्ती निर्माण गरिएको भनिए पनि प्रदेश राजधानी विराटनगर र सङ्घीय राजधानी काठमाडौंमा घर भएकाको घर पनि सो बस्तीमा निर्माण गरिएको पाइएको छ । गाेरखापत्रबाट