बागलुङ। गाउँ–गाउँमा सडक पुगेको छ। हिउँद महिना गजबले धुलो उडाउँदै गाडीहरु पनि गुड्छन्। जब बर्खा लाग्छ, तब बन्द हुन्छन्। बागलुङका ग्रामीण सडक।
असार तेस्रो सातादेखि बन्द भएका बागलुङका अधिकांश ग्रामीण सडक अहिले पनि संचालनमा आउन सकेका छैनन्। बर्खाले क्षतविक्षत बनेका सडक दशैँ आउन थाल्दा पनि खुलाउने सुरसार छैन। तीन महिनादेखि बन्द सडक संचालन नहुँदा स्थानीयहरु मर्कामा पर्दै आइरहेका छन्।
गाउँमा पुगेका अधिकांश सडक बिना इन्जिनियरिङ निर्माण गर्दा बर्खाको भलसँगै बग्छन्। जसका कारण असोज लागिसक्दा पनि संचालन हुन सक्दैनन्। बर्खाको तीन महिना स्थानीयहरुलाई बजारबाट सामान ढुवानी गर्न भरियाको आवश्यकता पर्छ। गाउँमा कोही बिरामी परेर अपर्झट अस्पताल पुर्याउन परे पनि सडकका कारण बोकेरै बजार झर्नुपर्ने अवस्था छ।
गाउँ पुगेका सडकहरू बर्खाका कारण दर्जनौँ स्थानमा पहिरोले पुरिएका छन् भने कयौँ स्थानमा खाल्डाखुल्डी र भलका कारण गाडी गुड्नै नमिल्ने भएका छन्। बाह्रै महिना सडक संचालन नहुँदा ग्रामीण क्षेत्रका नागरिकले निकै समस्या भोग्नु परेको निसिखोला गाउँपालिका–१ का मदन घर्ती मगरले बताए।
सडकको पहिरोले बगाउँदा बजारदेखि सामान ओसारपसारमा निकै समस्या भएको घर्तीले बताए। गाउँमा बाटो छैन भनौँ भने छ तर बर्खामा गाडी नै चल्न सक्दैनन्, हिउँदमा त गाडीहरु निरन्तर चल्छन्, बर्खा लाग्यो भने त सबै ठप्प हुन्छन्, गाउँलेहरुले निकै दुःख पाउँछन्, पहिले सडक नआउँदा पनि दुःख पाएकै हो, अहिले सडक भएर पनि हाम्रो दुःख उस्तै छ, घर्तीले भने, हिउँदमा मात्रै अलि सजिलो हुन्छ, अहिले बाटोको अवस्था हेर्नुहुन्छ भने बिजोग छ, त्यस्तो बाटोमा कसरी गाडी चलून् दशैँ आउन लाग्यो, खुलाउने सुरसार छैन।
बडिगाड गाउँपालिका–७ का गाडी चालक बोमबहादुर बुढा मगरले सडक बिग्रिएका कारण तीन महिनादेखि गाडी ठप्प भएको बताए। उनले असार अन्तिम सातातिर सामान लिएर गाउँ गएको र सोही बेला ठूलो वर्षा हुँदा पहिरोले सडक बिग्रिएपछि गाडी गाउँमै थन्क्याएर राख्नु परेको बताए।
उनले अब दशैँमा सडक खुलेमात्र गाडी चलाउन सुरु गरिने बताए।
बाटो बिग्रिएर खतम भएको छ, पहिरोले एक ठाउँ मात्रै पुरिएको भए त स्थानीय जनताहरूले खनेर खुलाउन सकिने थियो, धेरै ठूलो–ठूलो पहिरोले ठाउँ–ठाउँमा सडक पुरिएको छ, ठूलो मेशिन नलगाएसम्म सडक खुलाउन नसक्ने अवस्था भएपछि गाडी गाउँमै छ, यति धेरै महिना भयो गाडी नचलाएको, बजारतिरै भएको भए वरपर त चलाउन सकिन्थ्यो, नुन तेल खाने, किस्ता तिर्ने उपाय त हुन्थ्योु, उनले भने, हिरोले गाउँमै अड्कियो, अब दशैँ आउँदै छ, गाडी बन्द गरेर बसेको धेरै दिन भयो पैसा पनि छैन केले दसैँ मनाउने पोहोर साल त बजारतिरै थिएँ, ठीकठीकै कमाई भएको थियो, अहिले त घाटा मात्रै, किस्ता पनि ऋण खोजेर तिर्नुपर्यो।
लामो समयदेखि गाउँ–गाउँमा गाडी चलाउँदै आएका ढोरपाटनका देवीराम विकले बर्खाको समयमा गाडी चलाउन निकै जोखिम हुने बताए। उनले गाउँका सडक निकै साँघुरा हुने, माथिदेखि पहिरो खस्ने र तलबाट भासिने हुँदा दुर्घटना हुने संभावना बढी हुने बताए।
विकले अहिले गाउँका सडकहरू पहिरोका कारण क्षतविक्षत भएको भन्दै खुलाउन पनि धेरै दिन लाग्ने बताए।
बर्खामा गाउँहरुमा गाडी चलाउन निकै जोखिम छ, माथिबाट पहिरो आएर च्याप्छ कि, तलबाट बगाउँछ भन्ने डर हुन्छ, तै पनि मान्छेहरु बोक्नै पर्यो, सामानहरु ओसार्न परिहाल्यो, अझ गाउँका सडकहरु निकै साँघुरा हुन्छ, धेरै पानी पर्यो भने चिप्लिने डर हुन्छ,ु विकले भने ,सम्बन्धित निकायले सडक निर्माण गर्छ छोड्छ, कहाँ नाली बनाउनु पर्छ, कहाँ पर्खाल उठाउनु पर्छ, ध्यान दिँदैन, बाह्रै महिना गाउँका सडक चलाउनलाई त सबै सडकको नाली निर्माण गर्नुपर्छ, नाली निर्माण भयो भने धेरै सडकहरू बर्खामा पनि चल्छन्।
विकले गाउँपालिका तथा नगरपालिकाहरुले अनावश्यक ठाउँहरुमा पनि नापजाँच सडक निर्माण गर्दा सडकहरू बर्खाको समयमा ठप्प हुने गरेको बताए। गाउँका सडकबाट आएको बाढी पहिराले मुख्य सडकहरू पनि अवरुद्ध हुने गरेको उनको भनाई छ। बिना नापजाँच निर्माण भएका सडकका कारण धेरै बस्तीहरु समेत उच्च जोखिममा परेको बताउँछन्।