काठमाडौं। नेपाल टेलिकमले दशैंको अवसरमा अफर ल्याएको छ। कम्पनीले फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुटसहितका अफर ल्याएको हो।
यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु असोज १२ देखि लागू भएका छन्। पूरानो सिमलाई फोरजी/एलटीईमा परिवर्तन गर्दा कुनै शुल्क नलाग्ने कम्पनीले प्रष्ट पारेको छ। यो अफर अर्को सूचना जारी नभएसम्मका लागि लागू हुने छ।
ग्राहकले *444# डायल गरी सिम परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्ने छन्। पहिलो पटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधिसहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ। यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ। हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेकाले *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन्।
पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा कम्पनीले निःशुल्क उपलब्ध गराएको छ। आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर 400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ। साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ।
प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क लिनसक्ने छन्। आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिन्छ।
मिस्ड कल अलर्ट (एमसीए) ले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा मोबाइल फोन स्विच अफ भएको समयमा पनि पछि स्विच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलहरुको अलर्ट दिन्छ।
असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा ग्राहकले बोनस पाउने छन्। यसमा ५०, १०० र २०० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र ५००र १००० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ। ५०, १०० र २०० को बोनस ३ दिन भित्र र ५०० र १००० को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ।