पाल्पा। तानसेन नगरपालिका पाल्पाले २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई विद्युत् महशुल निःशुल्क बनाएको छ। तानसेन नगरपालिकाले ११औं नगरसभाबाट नगरपालिका भित्रका २० युनिटसम्म विद्युत् उपभोग गर्ने उपभोक्तालाई विद्युत् महशुल निःशुल्क गर्ने नीति तथा कार्यक्रम पारित गरेको थियो। नगरसभाले गरेको निर्णयालाई कार्यविधि बनाई सम्झौता पत्रमा नगरपालिकाका प्रमुख–प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली र नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण शाखाका प्रमुख विवेक अधिकारीले हस्ताक्षर गरी कार्यान्वयनमा आएको हो।
विद्युत् महशुल निःशुल्क गर्ने सम्झौतापत्र तानसेन नगरपालिका निमित्त कार्यवाहक नगरप्रमुख प्रतिक्षा सिंजाली र नेपाल विद्युत् प्राधिकरण पाल्पाका प्रमुख विवेक अधिकारीबीच आदान प्रदान भएको छ। यो सम्झौता २०८० साल अषाढ मसान्तसम्म लागू हुनेछ। तानसेन नगरपालिकाले १४ वटै वडाका १ हजार ८ सय १५ जना उपभोक्तालाई २० युनिटसम्मको विद्युत् महशुल निःशुल्क गरेको छ। विद्युत् प्राधिकरणले २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई न्यूनतम मासिक ३० रुपैयाँ लिंदै आएको तानसेन नगरपालिकाले रु ३० रुपैयाँ समेत तिरिदिने व्यवस्था गरेको हो।
तानसेन नगरपालिकाले बार्षिक रुपमा एक जना उपभोक्ता बराबरको ३ सय ६० रुपैया का दरले एकमुष्ट रुपमा विधुत प्राधिकरण पाल्पा लाई १ हजार ८ सय १५ जनाको ६ लाख ५३ हजार ४ सय रुपैयाँ अग्रिम रुपमा भुक्तानी गरेको छ। तानसेन नगरपालिकाले वडागत रुपमा सार्वजनिक सूचना गरी २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताहरुको नामावली संकलन गरेको थियो। विद्युत् महशुल निःशुल्क सुविधा पाउनेहरुमा वडा नंं. १ बाट ९ जना, वडा नं. २ बाट १ जना, वडा नंं. ३ बाट ४ जना, वडा नंं. ५ बाट १६५ जना, वडा नंं. ६ ४० जना, वडा नंं. ७ बाट ४१ जना, वडा नंं. ८ बाट ३४५ जना, वडा नंं. ९ बाट १६३ जना, वडा नं. १० बाट ६८ जना, वडा नंं. ११ बाट ४८२ जना, वडा नंं. १२ बाट ३२६ जना, वडा नंं. १३ बाट १२५ जना र वडा नंं. १४ बाट २१ जना उपभोक्ता रहेका छन्।
तानसेन नगरपालिकाका कार्यवाहक नगरप्रमुख प्रतिक्षा सिंजालीले तानसेन नगरपालिकाभित्र रहेका अति गरिब विपन्न परिवारको लागि विद्युत् महशुलमा पूर्ण निःशुल्क गरिएको बताइन। कार्यक्रममा नगर प्रवक्ता यादवसिंह कार्कीले सबै वडाबाट कोही पनि २० युनिटसम्म विद्युत् महशुल खपत गर्ने उपभोक्ताहरु नछुटुन भनी वडा वडामा अभियान नै चलाएको, छुटेका भएका आगामी वर्षबाट समेट्ने बताए।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण पाल्पा शाखाका प्रमुख विवेक अधिकारीले पाल्पामा ३८ हजार ग्राहक रहेकोमा २५ हजार ग्राहक २० युनिटभन्दा कम खपत गर्ने उपभोक्ता रहेको बताए। आगामी दिनमा ग्राहकहरुलाई सजिलो बनाउन, जिल्लाको ३ स्थान, तानसेन, आर्यभञ्ज्याङ र हार्थोकमा बिल भुक्तानी शाखा सञ्चालनको तयारीमा रहेको शाखा प्रमुख अधिकारीले बताए। लुम्बिनी दैनिकबाट