काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारले आफ्नो लगानीमा पूर्व–पश्चिम रेल बनाउन नसक्ने बताएका छन्।
मन्त्रालयमा सोमबार नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा बोल्दै मन्त्री राईले सरकारले रेल बनाउन लगानी गर्न नसक्ने बताएका हुन्।
उनले केपी ओली सरकारले कुनै अध्ययन बिना रेल निर्माण गर्ने योजना बनाएको आरोप लगाए।
मन्त्री राईले अहिले नेपालमा सञ्चालनमा रहेको जनकपुर रेल घाटामा रहेको भन्दै पूर्व–पश्चिम रेल सञ्चालनले राज्यलाई फाइदा हुने पक्षको काम गर्नुपर्ने बताए।
उनले पूर्व–पश्चिम रेल औचित्य र आवश्यकताको आधारमा बनाउनको लागि १२ खर्ब रुपैयाँ लागत लाग्ने दाबी गरे।
मन्त्री राईले जग्गाको मुआब्जालगायत प्रत्येक वर्ष हुने मूल्य समायोजनको आधारमा रेल सञ्चालन गर्दासम्म २४ खर्ब रुपैयाँ लाग्ने बताए।
उनले देशको बजेट ४ खर्ब रुपैयाँ रहेको र बजेट कार्यान्वयन ३ खर्ब रुपैयाँ रहेकाले सरकारले आफ्नो लगानीमा रेल बनाउन नसक्ने स्पष्ट पारे।
मन्त्री राईले कुनै विदेशी दातृ निकायले रेल पूर्वाधार बनाइदिने र सञ्चालन गरेको खण्डमा मात्र पूर्व–पश्चिम रेल प्राथमिकताका आधारमा बनाउन सकिने बताए।
उनले देशको अहिलेको अवस्था र स्रोतको आधारमा पूर्व–पश्चिम रेल निर्माण गर्नसक्ने अवस्था नभएको स्पष्ट पारे।