सिलगढी। प्राकृतिक सौन्दर्य र धार्मिक हिसाबले महत्त्वपूर्ण क्षेत्र खप्तडमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सङ्ख्या बढ्दै जान थालेको छ। प्राकृतिक सौन्दर्य र धार्मिक हिसाबले महत्त्वपूर्ण क्षेत्र खप्तडमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सङ्ख्या बढ्दै जान थालेको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यस अर्थिक वर्षमा तीन गुण बढीले पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो। कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक नेपाल आउन सकेनन्।
पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका छन्। कोभिडपूर्व अर्थात् सन् २०१८ र सन् २०१९ मा समान १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएका थिए। पछिल्लो सन् २०२२ को आठ महिनामा तीन लाख बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। कोभिडपछि अहिले पर्यटन क्षेत्र पुनरुत्थानको लयमा छ। पर्यटकीय गतिविधि बढेका छन्। विदेशी पर्यटक आगमन पनि सुधारोन्मुख छ।
त्यस्तै, खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख गोपाल घिमिरेका अनुसार आर्थिक वर्ष २०७६।०७७ मा ७३० जना नेपाली, पाँच जना सार्क मुलुक र ११ जना सार्क मुलुक बाहेकका विदेशी पर्यटक खप्तड घुम्न आएका थिए।
यसैगरी, २०७७/०७८ मा एक हजार ६७३ नेपाली, सार्क मुलुकबाट एक जना र सार्क मुलुक बाहेक तीन विदेशी पर्यटक आएकोमा आर्थिक वर्ष २०७८/०७९ मा नेपाली दुई हजार १८७ सार्क मुलुकबाट तीन जना र सार्क मुलुक बाहेकका विदेशी १९ जना खप्तड घुम्न आएका छन्।
भू–स्वर्गका नामले परिचित खप्तड सुदूरपश्चिम प्रदेशका अछाम, बझाङ, डोटी र बाजुरा जिल्लाको संगमस्थलको रूपमा लिने गरिन्छ। खप्तडमा फराकिला पाटनहरू, रङ्गीचङ्गी फूलहरु र सुन्दर भू–बनोट रहेको छ। खप्तड क्षेत्र जैविक विविधता र धार्मिक आस्थाका हिसाबले महत्त्वपूर्ण गन्तव्य हो। खप्तड २२५ वर्ग किलो मिटरमा फैलिएको छ।
त्रिवेणी, खप्तडदह, सहस्रलिङ्ग, नागढुङ्गा, खापरमाडौंलगायतका स्थानहरूलाई हिन्दुहरूका लागि पवित्र तीर्थस्थलका रूपमा लिने गरिएको छ। यी स्थानहरूमा गङ्गा दशहरा, जनैपूर्णिमा, भदौ शुक्ल चतुर्दशी (अनन्त चतुर्दशी) जस्ता धार्मिक पर्वहरूमा मेला लाग्ने र पूजाआजा हुने गरेको छ। खप्तड क्षेत्रमा २२ वटा पाटन रहेका छन्। बाघ बुट्टे निगालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो। हिउँद याममा हिउँमुनि लुक्ने खप्तड वसन्त ऋतुदेखि वर्षायाममा रङ्गीचङ्गी फूलहरूको विशाल बगैँचा जस्तै देखिने गर्दछ। पौराणिक कालमा ऋषिमुनिहरूले तपस्या गरेको पवित्र क्षेत्रका रूपमा समेत खप्तडलाई लिने गरिन्छ। स्कन्द पुराणमा समेत खेचरादी पर्वतका नामले खप्तड क्षेत्रको वर्णन गरेको पाइन्छ।
यस क्षेत्रमा २०४० सालदेखि राष्ट्रिय निकुञ्ज स्थापना गरिएको छ । निकुञ्ज भित्र ५६७ थरिका वनस्पति र नेपालमा पाइने ८५० किसिमका चराचुरुङ्गीमध्ये २६० भन्दा बढी किसिमका चरा पाइने गरेको बताइन्छ। समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर सम्मको उचाइमा खप्तड रहेको छ। विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ।
खप्तड क्षेत्र खप्तडबाबा अर्थात् स्वामी सच्चिदानन्द सरस्वतीले तपस्या गरेको पवित्र भूमि हो। खप्तड बाबाले खप्तडमा करिब ५० वर्ष बिताएका थिए। खप्तडबाबा आध्यात्मिक गुरु र दार्शनिकका रूपमा चिनिन्छन्।
खप्तड आउने पर्यटकहरूका लागि सहज बसोबास र खानाको व्यवस्था गरिएको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भिमबहादुर खड्काले बताएका छन्। निर्देशक खड्काले भने, “पछिल्लो समयमा खप्तडमा आउने पर्यटकहरूलाई खाना र बस्नको समस्या छैन। खप्तड क्षेत्रमा जीर्ण भएका अतिथि गृह पुनर्निर्माण गरिएका छन् । अझै निजी क्षेत्रलाई भित्राउने प्रक्रियामा छौँ।”
कोरोना सङ्क्रमणको त्रासका कारण भएको लामो समय सम्मको लकडाउनका कारण खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या घटेको थियो। अवस्था सहज भए सँगै खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। गोरखापत्रबाट